काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १८ प्रतिशत भन्दा बढी लाभांश दिनसक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ४१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म पनि मुनाफा दर यही कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप रकम विनियोजन गर्नु नपरे यो बैंकले कम्तीमा १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिएको छ । बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड माथि छ । 

बैंकले गत वर्षको सोही अवधिको तुलनामा नाफामा ३२.५६ प्रतिशतको प्रगति गर्दै १ अर्ब ८७ करोड आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा २ अर्ब रहेको संचालन मुनाफा करिब ३२ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ६४ करोडको उचाई चुमाएको छ । 

व्यवसाय वृद्धिमा आक्रामक बनेको यो बैंकको कस्ट अफ फण्ड समेत घटेका कारण खूद ब्याज आम्दानी २ अर्ब ५९ करोडबाट बढेर ३ अर्ब ६८ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ११.५३ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारतर्फ भने १६.०८ प्रतिशतले वृद्धि गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ६९ करोडमा सीमित रिजर्बको आकार बढाई ५ अर्ब १२ करोड पुर्याएको बैंकले १.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा समेत घटाएर ०.७६ प्रतिशतमा सीमित गरेको छ। 

बैंकले ८.२२ प्रतिशत रहेको कस्ट अफ फण्डलाई घटाएर ६.९७ प्रतिशतमा सीमित गरेको छ भने २१.१९ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २४.२१ रुपैयाँ पुगेको छ। 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  १४९.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१९ गुणा कायम भएको छ।