काठमाण्डौ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ । 

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो । 

काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

जनता बैंकका अध्यक्ष केशब रायमाझी र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

दुई बैंक एकीकृत भई बन्ने ठूलो बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहने सहमति भएको बुझिएको छ । यो सहमति कार्यान्वयन भएको खण्डमा जनता बैंक नेपाल इतिहास बन्नेछ । 

सहमतिअनुसार एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री रहनेछन् भने वरिष्ठ डेपुटी सीइओमा ग्लोबल आइएमई बैंकका कामु सीइओ महेश ढकाल रहनेछन् । 

सकेसम्म मर्जर प्रक्रियालाई चाँडै सक्ने गरी काम अगाडि बढाउने विषयमा दुवै बैंक सहमति भएका छन् । 

मर्जरको एमाओयूमा हस्ताक्षर कार्यक्रममा दुवै बैंकका अध्यक्षले सरकारले बजेटमार्फत लिएको लक्ष्य र राष्ट्रबैंकको निर्देशन अनुसार ठूलो साइजको बैंक बन्ने उद्देश्यले मर्जर सम्झौता गरिएको बताए । 

यी दुई बैंकबीच केही दिनअघिदेखि नै मर्जरको प्रयास भइरहेको थियो । ग्लोबल आइएमई बैंकले यसअघि मेगा बैंकसँग समेत मर्जरको प्रयास गरेको थियो । तर, मेगासँगको मर्जर प्रयास कर्मचारी समायोजनको मुद्धामा कुरा नमिलेपछि तत्काल संभव थिएन । 

दुवै बैंकले ग्लोबल आइएमई बैंकका सुदर्शनकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन भएको छ । 

कमिटीमा दुवै बैंकको तर्फबाट ३ ३ जनाको सहभागिता रहेको छ । 

कमिटीको सहसंयोजक जनता बैंकका गौतमप्रसाद खनाल रहेका छन् भने अन्य सदस्यहरुमा जनता बैंकको तर्फबाट रामप्रसाद भण्डारी र सञ्जिव न्यौपाने र ग्लोबल आइएमई बैंकको तर्फबाट नुमनाथ पौडेल र सुमन पोखरेल रहेका छन् । 

कस्तो बन्नेछ संस्था ?
दुई बैंक मिलेर बन्ने ग्लोबल आइएमई बैंकको शाखा सञ्जाल संख्या २७८ पुग्नेछ । शाखा सञ्जालको हिसाबले अहिले पनि जनता बैंक एक्लै चौथो ठूलो बैंक हो । 

चैतसम्मको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने ग्लोबल आइएमइ बैंक र जनता बैंक गाभिएपछि सर्वसाधारणबाट उठाएको निक्षेप १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ। 

यस्तै, ऋण लगानी एक खर्ब ७० अर्ब रुपैयाँ नाघ्नेछ भने जनता बैंकको तर्फबाट चुक्तापूँजीमा ६ अर्ब ८० करोड रुपैयाँ थपिनेछ । यो १०० बराबर ८५ को सेयर स्वाप अनुपातको आधारमा निकालिएको तथ्यांक हो । अहिले ग्लोबलको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। जनता मिसिएपछि १७ अर्ब ११ करोड माथिको चुक्तापूँजी हुनेछ । 

दुवै बैंक मर्ज भएपछि सेयर आदानप्रदान अनुपात मिलानपछि जगेडाकोषमा जाने रकम, हालको जगेडाकोष र पूँजी समेत जोड्दा पूँजी कोष झण्डै २३ अर्बको हाराहारीको हुनेछ ।