काठमाण्डौ । ग्लोबल आइएमई बैंकले निकै सस्तो दरमा घरकर्जा दिने घोषणा गरेको छ । 

यो बैंकले घर कर्जा सम्बन्धी नयाँ योजना ल्याउँदै ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध हुने घोषणा गरेको हो । 

घर कर्जाका लागि आवश्यक कागजातसहित आवेदन प्रक्रिया पूरा गरेको तीन कार्यदिनभित्र घर कर्जा दिने गरी नयाँ प्रडक्ट ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो कर्जाबाट सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरिद गर्नेहरु लाभान्वित हुने बताइएको छ । यस्तै, अन्य बैंक तथा बित्तीय संस्थाबाट उपभोग गरिरहेको कर्जा समेत यही स्किममा सार्न सकिनेछ । 

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि एक करोड ५० लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

यो योजना निश्चित अवधिका लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बताइएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखा रहित बैंकिङ इकाई र नेपाल बाहिर तीनवटा सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा धेरै ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले नेपाल बाहेक अष्ट्रेलिया, बेलायत र भारतमा सम्पर्क कार्यालय खोलिसकेको छ ।