काठमाण्डौ । महत्वपूर्ण वित्तीय सूचकमा छलाङ मार्दै ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि २३.५६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । 

चौथो त्रैमास विवरणअनुसार बैंकले २ अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । 

समीक्षा अवधिमा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले ३३.०२ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब १० करोड रुपैयाँ थियो । 

यस्तै बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ । 

अघिल्लो वर्ष ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफालाई बढाएर बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ रिजर्बको आकार घटाएर बैंकले ३ अर्ब २० करोड रुपैयाँमा झारेको छ । 

बैंकले रिटेन अर्निङतर्फ ९४.२५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा २ अखर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब ८७ करोड ऋण प्रवाह गरेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी २७.११ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा प्रति ०.७७ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.२२ प्रतिशतले घटेको देखाएको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १२.३९ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.१८ प्रतिशत र सीडी रेसियो ७८.६९ प्रतिशत रहेको छ । 

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.५४ प्रतिशतमा सीमित गर्न सफल भएको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १५८.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८८ गुणा कायम भएको छ ।