काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँको ३५ प्रतिशत अर्थात ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

संस्थाले बोनस सेयरको कर प्रयोजनार्थ १.८४ प्रतिशतले हुन आउने २० लाख ३४ हजार ७४३.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि बोनस सेयर वितरणको प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गरी पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।