काठमाण्डौ । ग्लोबल आईएमई बैंक पुराना वाणिज्य बैंकहरुलाई पछि पार्दै मुलुककै ठूलो बैंक बन्न सफल भएको छ ।

स्थापनाको डेढ दशक नपुग्दै ग्लोबल आईएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बन्न सफल भएको हो । जनता बैंक नेपालसँग सफलतापूर्वक मर्जर प्रक्रिया सम्पन्न गरेको यो बैंकले आज शुक्रबारदेखि ग्लाबल आईएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको सुरुआत अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रमबीच बैंकको काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा गरेका छन् ।

जनता बैंकसँगै मर्जर प्रक्रिया पूरा गरेसँगै देशमा २० अर्ब रुपैयाँभन्दा माथि चुक्ता पुँजी पुर्याउने ग्लोबल आईएमई पहिलो वाणिज्य बैंक पनि बनेको छ । 
एकीकृत बैंकको प्राथमिक पुँजी २४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । बैंकको निक्षेप संकलन २१३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ भने कर्जा प्रवाह १९४ अर्ब रुपयाँभन्दा माथि छ ।

त्यस्तै एकीकृत बैंकका अब ८४० सेवा केन्द्रमा ३ हजार २०० भन्दा बढी दक्ष जनशक्ति छन् । बैंकका देशभर २५९ एटीएम सेवा सञ्चालनमा छन् ।

हालसम्म ग्लोबल आईएमई बैंकले जनतासहित कुल १८ बैंक तथा वित्तीय संस्थालाई आपसमा मर्ज गराइसकेको छ ।

मर्जरपछि एकीकृत बैंकको अध्यक्षमा ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । बैंकको सीईओमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री रहेका छन् ।

बैंक सञ्चालक समितिमा ग्लोबलबाट तीनजना र जनताबाट दुईजना सञ्चालक रहनेछन् ।