काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवरक्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् । 
ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई गतसाता शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा सक्रिय क्षेत्री २०७४ साल असार १गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत रहे । यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् । 

वि.सं. २०४२ सालदेखि तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गर्नुभएका क्षेत्रीले तत्कालीन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना कार्यसमेत गरे । 

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रमपश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराइएको थियो । 
एकीकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दाबढी रहेको छ । 

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेको बैंकले जनाएको छ ।