काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर भोलि (सोमबार) देखि दोस्रो बजारमा कारोबार खुल्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ चन्द्रसिंह साउदका अनुसार ग्लोबल आईएमई बैंकको कारोबार सोमबारबाट खुल्ने भएको हो । मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकिएको उनले जानकारी दिए ।

आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ महिनापछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंकको नाममा गत माघ १ गते नेप्सेमा सूचीकृत भएको थियो ।

ग्लोबल आईएमई बैंक र जनता बैंकबीच १:०.८५ सेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया टुंगिएको थियो । यो हिसाबले जनता बैंकका तर्फबाट कुल ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर ग्लोबल आईएमईको नाममा थपिएको हो ।

जनता बैंकबाट थपिएको कित्तासमेत गरी ग्लोबल आईएमई बैंकको नाममा कुल १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर कारोबारमा आउनेछ ।

यसैबीच नेप्सेले मर्जरपछि जनता बैंकको सेयर ग्लोबल आईएमई बैंकमा रुपान्तरण गर्दा दुवै बैंकको तत्कालीन बजार पुँजीकरणभन्दा २५ अर्ब २८ करोड कम हुने गरी सुरुआती मूल्य तोकेको पाइएको छ ।

मर्जर सम्झौता हुनुअघि ग्लोबल आईएमई बैंकको बजार पुँजीकरण ५५ अर्ब ९७ करोड ८८ लाख ४५ हजार ७०५ रुपैयाँ थियो भने जनता बैंकको १७ अर्ब १२ करोड १६ लाख ८१ हजार ६१२ रुपैयाँ थियो । दुवैको सो बेलाको बजार पुँजीकरण जोड्दा ७३ अर्ब १० करोड ५ लाख २७ हजार ३१७ रुपैयाँ हुन आउँछ तर सुरुआती मूल्य २५२ ले हिसाब गर्दा दुवै बैंकको मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको कुल बजार पुँजीकरण ४७ अर्ब ८१ करोड ९२ लाख १७ हजार ३४७ रुपैयाँमा सीमित बन्न पुगेको छ ।