काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबार निक्षेपको ब्याजदर घटाएको छ। यो ब्याजदर साउन १ गतेदेखि लागू हुनेछ।

बैंकले बचतको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो। बैंकले अब बचतमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिनेछ। यसअघि बैंकले बचतको ब्याजमा ३.५ देखि ५.५ प्रतिशतसम्म दिँदै आएको थियो।

बैंकले लागू गरेको बचतको नयाँ ब्याजदरअनुसार अब सामान्य बचत, नारी बचत, बालबालिका बचत, विद्यार्थी बचत, सबै नेपालीको बचत खातालगायतमा ३ प्रतिशत ब्याज उपलब्ध हुनेछ।

त्यस्तै कर्मचारी बचत र रेमिट्यान्स डिपोजिट अकाउन्टमा ३.५ प्रतिशत ब्याज बैंकले उपलब्ध गराउनेछ। ग्लोब प्रिमियम सेभिङ, सिनियर सिटिजन अकाउन्ट र ग्लोबल सुरक्षा बचत खातामा ४ प्रतिशत ब्याज पाइनेछ।

यसैगरी ग्लोबल नवरत्न बचत खाता, ग्लोबल नवरत्न स्यालरी अकाउन्ट, ग्लोबल सेयर लगानी बचत खाता, ग्लोबल नारी शक्ति बचत शक्तिलगायतमा ५ प्रतिशत ब्याज उपलब्ध हुनेछ।

बचतको ब्याज घटेसँगै बैंकले प्रदान गर्ने कल डिपोजिटको ब्याज पनि स्वतः०.५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले बचतको न्यूनतम ब्याजभन्दा बढी कल डिपोजिटमा दिन नपाउने ब्यवस्था गरेको छ। त्यसैले बचतको ब्याज घट्दा कल डिपोजिटको स्वतः घट्छ।

यसैगरी ग्लोबलले मुद्दति निक्षेपको ब्याजदर पनि ०.५ प्रतिशतले घटाएको छ। योसँगै सर्वसाधारणको मुद्दतिको ब्याजदर ८.२५ प्रतिशतबाट ७.७५ प्रतिशतमा झारेको छ।

संस्थागत मुद्दति निक्षेपतर्फ भने ब्याजदर ७ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झारेको छ।  नवीकरण गर्दा भने संस्थागत मुद्दति निक्षेपतर्फ भने ६.६ प्रतिशत ब्याजदर कायम हुने बैंकले जनाएको छ।

यसअघि नबिल बैंक लिमिटेडले पनि निक्षेपको ब्याजदर घटाइसकेको छ। बैंकर्स संघले गत सोमबार ब्याजदरमा २ वर्षदेखि कायम भद्र सहमति खारेज गरेपछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका हुन्।

ग्लोबलसँग अहिले कुल स्वदेशी मुद्राको निक्षेप २१६ अर्ब रुपैयाँ छ। कुल निक्षेपमा करिब ३४ प्रतिशत हिस्सा बचत खाताको छ भने मुद्दतिको साढे ४९ प्रतिशत छ। यस्तै कलको ९.५, चालुको ६.५ र अन्यको ०.५ प्रतिशतको हाराहारी छ।

यस्तै बैंकले आधारदरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म जोडेर विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउनेछ । बैंकको आधारदर २०७६ चैतमा ९.४१ प्रतिशत रहेको छ ।