– भक्तराज रसाइली

काठमाण्डौ । सेयर बजार मापक नेप्से सूचक यो साता निरन्तर घटिरहँदा सेयर लगानीकर्ताहरुको मनोविज्ञान लोभ, त्रास र आशाको घेराभित्र रुम्मलिरहेको देखिन्छ ।

नेप्सेको अनलाइन प्रणालीमा हामीले १ बजे नेप्सेमा सूचीकृत कम्पनीहरूको मार्केट डेप्थ हेर्दा केबल १–२ रुपैयाँको बार्गेनिङ चलिरहेको देखियो । जसको अर्थ लगानीकर्ताहरु घटिरहेको बजारमा बार्गेनिङ गरेर सस्तोमा सेयर उठाउने ध्याउन्न रहेको बुझिन्छ ।

किन्ने क्षमता लगानीकर्ताहरूमा देखिन थालेको र अर्को कुरा घटिरहेको नेप्से सूचकलाई अवसरका रूपमा लिँदै सेयरको आपूर्तिभन्दा माग ५–७ गुणासम्मको देखिन्छ । जसमा खरिदबिक्रीमा लगानीकर्ताहरुले मात्रै १–२ रुपैयाँको मोलमोलाइ गरिएको स्पष्ट हुन्छ।

हामीले  १ बजेको तथ्यांकअनुसार अनलाइनमा हेर्दा सानिमा बैंकको मागतर्फ ३३,१५७ र आपूर्तितर्फ ५,३९९ कित्ता सेयर देखिन्छ । यसैगरी माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, ओरिएन्टल होटल, एनटीसी, चिलिमे हाइड्रोपावर र मेगा बैंकको मागतर्फ क्रमश २२,९२८, २,६०८, ५०,३०४, ४०,१५०, ३०,३३५, १,२७०, ३४,०५०, ६,८३७ र २७,६३७ कित्ता सेयर देखिन्छ भने आपूर्तितर्फ क्रमशः ८,०३६, १,४३०, ९,५८०, १६,९५०, ७,५९९, ९९०, २,९७९, ५३४ र ६,८८६ कित्ता सेयर मार्केट डेप्थमा देखिएको छ ।

नेप्से सूचक घटिरहेको बेला सेयरका मूल्य सस्तिँदै जान्छन् र सस्तोमा सेयर किन्ने होडबाजीले गर्दा माग सिर्जना भई सेयरको मूल्य क्रमशः बढ्दै जान्छ भन्ने विश्वव्यापी सिद्धान्त हो ।

आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिमा भेटिएका लगानीकर्ता कृष्णप्रसाद तिवारीले लामो समयदेखि घटिरहेका बेलासमेत खरिदकर्ताको बाक्लो उपस्थिति देखिएको दाबी गर्दै खरिदबिक्रीमा १–२ रुपैयाँको अन्तरले मात्रै कारोबार अवस्था नभएको बताए ।

सोही ठाउँमा भेटिएका अर्का लगानीकर्ता हरिराम घिमिरेका अनुसार सेयर भाउ घटेकाले किन्न आएको जानकारी दिए । ‘किन्ने सुअवसर बजारले हामीलाई दिएको छ’, उनले जिकिर गरे।

आर्यतारामा भेटिएका अर्का लगानीकर्ता प्रह्लादकुमार ओलीले लगानीकर्ताको मनोवृत्तिमा सरकारले केही आशाको दियो बाल्ने प्रतीक्षामै लगानीकर्ता बसेको र पूँजीबजार विकासका लागि केही ठोस कदम चालिए बजारको गिरावट थामिने र बजार बढ्ने पक्का भएको सुनाए । ‘अब बजार धेरै घट्यो, अब बजारले छलाङ मार्न केही दिनमात्रै बाँकी रहेकाले म सेयर खरिद गरिरहेको छु’, ओलीले बिजशालासँग भने।