काठमाण्डौ । तरलताको अवस्थामा सुधार भएपछि बैंकको ब्याजदर घट्न थालेको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो । 

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ मंसिरको १०.३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा ९.४६ प्रतिशत कायम भएको छ । यो भनेको कात्तिकको तुलनामा अझ कम हो । औसत आधार दर २०७५ कात्तिकको १०.२१ प्रतिशतको तुलनामा २०७६ कात्तिकमा ९.५० प्रतिशत कायम भएको थियो । 

२०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६२ प्रतिशत र १२.३२ प्रतिशत रहेका थिए ।

२०७५ मंसिरमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १.०० प्रतिशत रहेकोमा २०७६ मंसिरमा १.६४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको १.२० प्रतिशतको तुलनामा २०७६ मंसिरमा ०.७८ प्रतिशत कायम भएको छ ।