काठमाण्डौ । घर सुरक्षाका लागि निकै महत्वपूर्ण मानिने जनावर कुकुर पाल्ने क्रम पछिल्लो समय नेपालमा पनि बढिरहेको छ ।

नेपालमा कुकुर पाल्ने फेसन नै जस्तो भइसकेको छ । कसैले सुरक्षाका लागि पाल्ने गर्छन् भने कसैले सौखका रुपमा पाल्ने गरेका छन् ।

विशेषगरी बिहानी र साँझको समयमा पैदल घुमफिरमा निस्किने नेपालीहरु आफूले पालेका कुकुरलाई सँगै लैजाने गरेका प्रशस्त भेट्न सकिन्छ । कतिपय नेपालीले आफूले पालेका कुकुरलाई निकै स्याहारसुसार गरेको पनि पाइन्छ । कतिपयले भने खासै ध्यान नै नदिई खुला रुपमा छाड्ने गरेको पनि पाइन्छ ।

अहिले विश्वभर जनावरको हकअधिकारको कुराहरु उठ्ने गरेका छन्। यस्तामा यदि सरकारले घरमा पालिएका कुकुरहरुलाई मालिकले अनिवार्य रुपमा दैनिकजसो एकपटक घुमाउन बाहिर लैजानुपार्ने, उनीहरुको खानपान र आवासको उचित व्यवस्था गर्नुपर्न नियम बन्यो भने तपाइँ के गर्नु हुन्छ ? अथवा सरकारी नियम उल्लंघनमा जरिवानासम्म हुने प्रावधान बन्यो भने तपाइँ के भन्नुहुन्छ ? सायद पत्याउनुहुन्न ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा यस्तै नियम लागू भएको छ । त्यहाँ घरमा पालिएका कुकुरलाई अनिवार्य रुपमा दिनमा एकपटक बाहिर घुम्न लैजानुपर्ने नियम लागू गरिएको छ । यदि कुनै घरधनीले आफूले पालेका कुकुर घुमाउन बाहिर लगेनन् भने ३ लाख रुपैयाँ (२७ सय डलर) जरिवाना तिर्नुपर्ने हुन्छ ।

अस्ट्रेलिया सरकारले यो नियम गत सातादेखि लागू गरेको हो । जनावर कल्याणकारी विधेयक पास गर्दै अस्ट्रेलिया सरकारले यसलाई कडाइका साथ लागू गरेको छ । यो विधेयकमा कुकुरलगायत जनावरका कल्याणका लागि निकै कडा नियम बनाइएको छ ।

यो विधेयकमा यदि मालिकले आफूले पालेका कुकुरलाई भोजन, पानी र आवासको पनि राम्रो व्यवस्था नगरेको पाइएमा तत्कालै कारबाही गर्न सक्ने नियम बनाइएको छ । मालिकले आफूले पालेका कुकुरलाई दैनिक कम्तीमा पनि दुई घन्टा खुला छोड्नुपर्ने नियम पनि विधेयकमा बनाइएको छ ।

यी नियमले जनावरको कल्याणमा ठूलो भूमिका खेल्ने अधिकारकर्मीहरु बताउँछन् । – एजेन्सी