काठमाण्डौ । के तपाइँ घरबाहिर निस्किँदै हुनुहुन्छ ? मास्क लगाउनुभएको छ कि छैन। छ भने त ठीकै छ नत्र भने अब प्रहरीको फन्दामा पर्नुहुनेछ।

अब प्रहरीले घरबाहिर निस्किनेलाई मास्क नलगाएको पाएमा पक्राउ गर्नेछन्। गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो। 

अब मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने गृह मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको जोखिम अहिले पनि नटरेकोले सर्वसाधारणलाई सचेत गराउन गृह मन्त्रालयले यस्तो निर्णय लिनुपर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ। गत असार १ गतेबाट लकडाउन केही खुकुलो पारिएसँगै उपत्यकालगायत देशैभरि संक्रमितको संख्या झनै बढ्न थालेपछि गृह मन्त्रालयले यस्तो निर्णय लिनुपरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जरुरी कामबाहेक घरबाहिर ननिस्किन, निस्किँदा अनिवार्य मास्क लगाउन र आपसमा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ।