काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म ४१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ । 

बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार साँझ ५ बजेसम्मको आँकडाअनुसार देशभरबाट ५५ हजार ६ सय ९४ आवेदकबाट ४१ लाख ८ हजार ३ सय ६० कित्ता खरीदका लागि आवेदन परेको हो । 

आवेदनको आँकडा संकलनको क्रम जारी रहेकोले फाइनल डेटा भने मंगलबार बिहान १० बजेसम्म प्राप्त भइसक्ने बताइएको छ । 


यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर बिहीबारदेखि सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निश्कासन गरेको हो । 

यो कम्पनीले यसअघि असार २२ देखि साउन २० गतेसम्म आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । सो क्रममा ९४ हजार २ सय ३० कित्ता सेयरका लाग मात्र आवेदन परेको थियो । 

कम्पनीले इच्छुक लगानीकर्तालाई न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको थियो ।

सर्वसाधारणका लागि आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ५५ करोडको उचाईमा पुग्नेछ।

घलेम्दी हाइड्रो लिमीटेडले म्याग्दीको नरच्याङ गाउँपालिका वडानम्बर ७ मा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रति मेगावाट लागत २३ करोड रहेको छ । 

एकसाताभित्र बाँडफाँड
बिक्री प्रबन्धक भिबोर क्यापिटलले अन्तिम आँकडा मंगलबार १० बजेभित्र प्राप्त हुने र परेका आवेदनहरु रीतपूर्वक परे नपरेको बिषय छानबिन गर्नुपर्ने भएकोले छिटो एकसाताभित्र बाँडफाँड गर्ने गरी काम अगाडि बढाइने प्रष्ट्याएको छ । 

हामी सकेसम्म एकसाताभित्र बाँडफाँडको काम सक्ने गरी अगाडि बढ्नेछौ । क्यापिटलका एक कर्मचारीले भने ।