काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडको सेयरको दोश्रो बजारमा कारोबार खुलेको छ । 

नेप्सेले यो कम्पनीको सेयरलाई १०० देखि ३०० रुपैयाँको ओपन रेञ्ज दिएको छ । यसको अर्थ सुरुवाती कारोबार १०० देखि ३०० रुपैयाँको बीचमा गर्न सकिनेछ ।

यसैगरी, नेप्सेले दोश्रो बजारमा कारोबारका लागि कम्पनीको सेयरलाई जिएचएल संकेत समेत दिएको छ । अब यो कम्पनीको सेयर कारोबार जिएचएल संकेतमा हुनेछ ।

नेप्सेले १०० देखि ३०० को ओपन रेञ्ज तोकिदिए पनि यो कम्पनीमा सुरुवाती चरणमा बिक्री अधिक चाप देखिएको छ । मार्केट डेप्थमा खरीद गर्नेहरुको संख्या यो समाचार तयार पार्दासम्म शून्य छ । बिक्री अर्डरमा भने ६६० कित्ता राखिएको छ । बिक्रीका लागि १५० देखि १८० रुपैयाँसम्मको मूल्य अफर गरिएको छ । तर, यति मूल्यमा समेत खरीद गर्नेहरु भने देखिएका छैनन् । 

यो कम्पनीले १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओको बाँडफाँड माघ १ गते भएको हो । कमजोर कम्पनी भएका कारण यो कम्पनीले दोश्रो बजारमा राम्रो मूल्य पाउने अवस्था भने देखिन्न । सुरुवाती चरणमा देखिएको बिक्रीको अधिक चापले समेत यो कुराको स्पष्ट संकेत गरिसकेको छ ।