काठमाण्डौ । घटेर नबेच्ने बिक्रेताको चाहना र भरसक एकदुई रुपैयाँले पनि घटाएर किन्ने खरीदकर्ताको चाहनाबीच बिहीबार दिनभर बजारमा घम्साघम्सी चलिरह्यो । बिक्रेता र खरीदकर्ताको यो घम्साघम्सीले सेयर बजार परिसूचक(नेप्से) स्थिरप्राय देखियो भने बजार उत्साहपूर्ण बन्न सकेन । 

केही दिनदेखि बजारमा जारी निराशालाई नै साताको अन्तिम कारोबार दिनले पनि निरन्तरता दियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही बढोत्तरी भए पनि चमक ल्याउने खालको कुनै संकेत बजारमा देखिएको छैन । 

बजारमा दशैं प्रभाव परिरहँदा ब्रोकर कार्यालयहरु सुनसान बन्न थालेका छन् । चकमन्न बजारमा उत्साहका कुनै पनि घटनाक्रम देखिएन । बजारको पछिल्लो प्रवृति हेर्दा कमजोर मनोबलका कारण निराश देखिएका लगानीकर्ता बजारमा उत्साह ल्याउने कुनै खास कारणको प्रतिक्षामा छन् भन्ने देखिन्छ । 

यो दिन नेप्से परिसूचक १.७३ अंकले घटेर ११२९.८० को विन्दूमा सीमित बन्न पुग्यो । 

होटल, जलविद्युत, जीवन बिमा र म्युचुअल फण्ड समूहमा सामान्य बढोत्तरी भयो भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

होटल समूह ०.९८ अंकले बढेको यो दिन जलविद्युत समूहमा ०.६३ अंक, जीवन बिमा समूहमा ६.२७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी देखियो । 

बैंकिङ समूह १.७५ अंकले घटेको यो दिन विकास बैंक समूहमा ४.७ अंक, व्यापार समूहमा ४.८२ अंक, निर्जीवन बिमा समूहमा १३.६३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९.९४ अंक, माइक्रोफाइनान्स समूहमा ४.७३ अंक, बित्त समूहमा ०.०२ अंक र अन्य समूहमा ०.२१ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका ७ लाख ९९ हजार १२८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३५२ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले १ करोड  ९४ लाख बढीको कारोबार गर्यो । सानिमा बैंकले १ करोड २५ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले १ करोड १४ लाख, मेगा बैंकले १ करोड १ लाख, नेपाल बैंकले ८३ लाख, एनएलजी इन्स्योरेन्सले ६६ लाख, नेपाल लाइफ इन्स्योरृेन्सले ६२ लाख, कृषि विकास बैंकले ५४ लाख, एनआइसी एशिया बैंकले ५३ लाख र अपर तामाकोशीले ४८ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशतले बढ्यो ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घट्न पुग्यो ।