काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले आगामी कार्यकालका अध्यक्ष शेखर गोल्छाले आफूहरुले लगाएको गुन बिर्सिएको बताएका छन् । 

आफू नेतृत्वको टिमको उम्मेद्वारी घोषणासभालाई सम्बोधन गर्दै ढकालले शेखर गोल्छालाई प्रश्न गर्दै भनेका छन्–‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?,  भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ।’ 

उनले आफ्नो नेतृत्वको टिमले चुनाव जित्ने दाबी गर्दै जितेपछि शेखर गोल्छा टिमकै सदस्य रहने उल्लेख गर्दै थपे–‘शेखर गोल्छा अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं। जब हामी जित्छौं, हामी उहाँको टिमको सदस्य हौं। सायद उहाँका लागि यो साधारण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो।’

उनले जिल्ला नगरका उद्योगी व्यवसायीहरुलाई हिजोको दिनमा संकट पर्दा कसले सहयोग गरेको, कसले फोन उठाएर सघाएको जस्ता विषय नबिर्सन समेत आग्रह गरे । ‘अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टिमका साथीहरु बितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ?’ उनले भने–‘तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ?  तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ? सुन्दैछु, अहिले फेरी तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ?, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे !’

उनले भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ भन्ने प्रश्न गर्दै अगाडि थपेका छन्–‘फेरी उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस्।’ 

उनले हिजोको दिनमा पनि उद्योगी व्यवसायीको समीपमा रहेर आफूहरुले काम गरेको र भोलिका दिनमा पनि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 
‘हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्नेवाला होइनौं।  कम्तिमा हाम्रो टिमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिबद्धता पनि हो।’ उनले भने–‘तपाईंहरु आफैं मनन गर्नुहोस्, तपाईंहरु आफैंले मूल्यांकन गर्नुहोस्। त्यो टीम छान्ने वा यो टीम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो।’