काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से) घटेको छ । यो दिन नेप्से परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ को विन्दूमा सीमित बन्न पुगेको हो । 

यो राम्रा र ठूला कम्पनीको सेयरमा बिक्री चाप देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स  ०.८९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.४६ अंकको गिरावट देखियो ।

यो दिन ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह ०.९५ अंकले बघटेको यो दिन ट्रेडिङ समूहमा ०.०८ अंक, विकास बैंक समूहमा ९.२ अंक, जलविद्युत समूहमा ६४.७८ अंक, बित्त समूहमा ७.०५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ०.५ अंक र जीवन बिमा समूहमा ४४.५३ अंकको गिरावट देखिएको छ । 

यो दिन होटल समूहमा ३५.८३ अंकको उछाल देखिएको छ भने निर्जीवन बिमा समूह ३.७१ अंक, माइक्रोफाइनान्स समूह १.७, म्युचुअल फण्ड समूह ०.०२ र अन्य समूह ०.९२ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजार परिसूचकमा झै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । १७० कम्पनीका २९ लाख ४३ हजार ३०४ कित्ता सेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी अपर तामाकोशीले १५ करोड ५९ लाख बढीको सेयर कारोबार गरेको छ । यो दिन बजार खुलेदेखि नै अपर तामाकोशीको सेयर मूल्यमा तीव्र उतार चढाव देखिएको थियो । यो कम्पनीको मूल्यमा बिहीबारजत्तिको उतारचढाव सायदै देखिएको थियो । 

हिमालयन डिस्टीलरीले ७ करोड ३ लाख, नेपाल बैंकले ६ करोड १४ लाख, कृषि विकास बैंकले ४ करोड १० लाख, शिवम सिमेन्टले ३ करोड ९७ लाख, जनता बैंक नेपालले २ करोड ९३ लाख, एनसीसी बैंकले २ करोड ८७ लाख, सानिमा माई हाइड्रोपावर लिमीटेडले २ करोड ३७ लाख, नेपाल टेलिकमले २ करोड ३६ लाख र ओरिएन्टल होटल लिमीटेडले २ करोड १८ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यो कम्पनीको सयर मूल्य  १० प्रतिशतको हाराहारीमा बढेको हो । 

मल्टीपर्पोज फाइनान्सको सेयर मूल्य समेत ९.६३ प्रतिशतले बढेको छ । 

यो दिन हिमालय उर्जाको सेयर मूल्यमा पहिरो गएको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्यमा ९.७२ प्रतिशतको गिरावट आयो । हिमालयन पावर पार्टनर लिमीटेडको मूल्य समेत ९.७० प्रतिशतले घट्यो । धेरै गुमाउने १० कम्पनीको सूचिमा ९ स्थान हाइड्रोपावर कम्पनीहरुले ओगटे । यसको अर्थ यी कम्पनी हेर्ने नियामकको व्यवस्था भएको विषयलाई लगानीकर्तालाई उत्साहित नबनाएको देखिन्छ । यहीकारण अघिल्लो दिन बुधबार चम्किएको हाइड्रो समूह २४ घण्टा नबित्दै सेलाउन पुग्यो ।