-चन्द्रकान्त खनाल
रुपन्देही । बैंकको चर्को ब्याजदरका बिरुद्ध नेपालगञ्जका उद्योगी व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा सोमबा यहाँका उद्योगी, व्यवसायीहरुले नेपालगञ्जमा बिरोध प्रदर्शन गरे । 

जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंक नेपालगञ्ज मार्फत गर्भनरलाई उत्पादनमूलक उद्योगीहरुलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशतसम्म र व्यवसायिक क्षेत्रमा ८ प्रतिशतमा नबढाई ब्यादजर कायम गर्न माग गर्दै उनीहरुले ज्ञापनपत्र समेत बुझाए ।

त्यस्तै बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न संघले माग गरेको छ । 

संघको कार्यालय त्रिभुवनचोकबाट सुरु भएको र्यालीले धम्बोझीचोकस्थित नेपाल राष्ट्र बैंक, पुगेर नेपालगञ्ज कार्यालयका निर्देशक बिमलराज खनाललाई ज्ञापनपत्र बुझाएको थियो । 

संघका अध्यक्ष नन्दलाल बैश्यले ज्ञापनपत्र बुझाउँदै बैंकको नियमन गर्ने निकायबाट ब्यादजर नियन्त्रण गर्ने अपेक्षा गरेको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले ब्यादजर बृद्धिले नीजि क्षेत्र डुब्ने अवस्थामा आएको बताए । राष्ट्रबैंकमार्फत गर्भनरलाई ज्ञापनपत्र बुझाएपछि संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले चर्को ब्यादजरका कारण ब्यापार, व्यवसाय ठप्प भएको भन्दै यस्तै अवस्था रहे सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।