-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीका  उद्योगीहरुले  बैंकहरुले सम्झौताविपरीत लगातार ब्याज वृद्धि गरेको भन्दै  आन्दोलनको घोषणा गरेका छन् । 

उनीहरुले सरकारी निकायमा ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने सम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका हुन् ।

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आइतबार बुटवलमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै उद्योगीहरुले बैंकहरुको अनियन्त्रित ब्याज बृद्धिले सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई असर पुर्याएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले ८ प्रतिशत ब्याजदरमा कर्जा सम्झौता गरेका बैंकहरुले ब्यवसायीलाई सूचना समेत नगरी १६ प्रतिशतसम्म पुर्याएको आरोप बताए ।  उनले  निक्षेपको ब्याज घट्दा समेत कर्जाको ब्याजदर घटाउन बैंकहरुले नमानेको र यसमा नियमनकारी निकायले समेत प्रभावकारी भूमिका नखेलेको भन्दै रोष प्रकट गरे । 

संघीय संरचनामा मुलुक रुपान्तरण भई आर्थिक समृद्धिको साझा मुद्धा बनेको अवस्थामा औद्योगिक विभासमा बैंकको अधिका ब्याजदर बाधक बन्दै गएको अधिकारीको भनाई थियो । 

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष एजाज आलमले बैंकहरुले निक्षेपमा ब्याज घटाउने, तर कर्जामा नघटाउने काम गलत भएको भएको बताए । निक्षेपमा राष्ट्रबैंकको निर्देशन मान्ने बैंकले कर्जामा पनि मान्नुपर्ने आलमको भनाई थियो ।

संघका पूर्वअध्यक्ष बोनिन पियाले बैंकका ब्याज तिर्न उद्योगीहरुले मिटर ब्याज लिन बाध्य हुनु परेको बताएका छन् । उनले बैंकहरुले राष्ट्रबैंकको निर्देशनलाई उल्लंघन गरेको भन्दै उद्योगीहरुले बैंकहरुलाई कालोबजारी गर्ने छुट नभएको बताए । 

‘समृद्ध नेपाल, सुखि नेपाली” भन्ने नारा नै तय भए पनि उद्योगको यो अवस्थाबाट संभव नहुने बताए । उद्योगीहरुले शुक्रबार नेपाल राष्ट्रबैंक भैरहवा मार्फत राष्ट्रबैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका उद्योगीहरुले प्रदेशको मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सुनुवाई नभए उद्योगमा ताला लगाउने निर्णयमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाइएको भन्दै यसलाई राज्यले नियन्त्रण गर्नुपर्नेमा व्यवसायीको जोड छ ।