काठमाण्डौ । कोरोना महामारीका कारण लामो समयदेखि चल्न नसकेका सार्वजनिक बस सोमबारबाट सञ्चालनमा आएका छन्। 

यसको सुरुआत मयूर यातायातले गरेको हो। मयूरले सरकारले तोकेको मापदण्डअनुसार काठमाण्डौ उपत्यका र काभ्रेसम्म सेवा सुरु गरिएको जनाएको छ। 

सोमबार ६ वटा बसमार्फत सेवा प्रदान गरिरहेको अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुईवटा बस काठमाण्डौ–धुलिखेल–पनौती रुटमा र अन्य चारवटा रिङरोडमा चलाइएको छ। 

अध्यक्ष श्रेष्ठका अनुसार २–३ दिनभित्रै २० वटाभन्दा बढी बस सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यो कम्पनीसँग ४४ वटा बस छन्।

मयूरले सरकारले तोकेको मापदण्डअनुसार नै एक पंक्तिमा एउटा सिटमा एकजनामात्र राखेर बस चलाइरहेको छ। ‘यात्रुले भाडा ५० प्रतिशत बढी तिर्नुपर्छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बसभित्र मास्क अनिवार्य गरिएको छ।’

कोरोना महामारीका सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन गरेपछि सार्वजनिक बसहरु चलेका थिएनन्। सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाण्डौ उपत्यण्काभित्र सार्वजनिक सवारी खुला गरेको थियो। तर अन्य यातायात व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका छैनन्।