- धर्म मलासी

काठमाण्डौ । पछिल्लो दुई महिनायता नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ अचाक्ली भएपछि चाडपर्वको सिजनमा पनि कारोबार नगण्य अवस्थामा पुग्दा काठमाडौँका व्यवसायीहरु धरापमा परेका छन् ।

सुनको नगण्य कारोबारका कारण महँगा सटर लिएर बसेका व्यवसायी रुनु न हास्नुको स्थितिमा छन् । दसैँको मुखमा सटर भाडासँगै कर्मचारीलाई तलब दिने स्थिति पनि नरहेको उनीहरु बताउँछन् ।

दुई साताअघि नेपालकै इतिहासमा तोलाको ७३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ पछिल्ला केही दिनयता सामान्य घट्दै बिहीबारसम्म आइपुग्दा तोलाको ७० हजार ८०० रुपैयाँमा झरेको छ । तर यो पनि नेपाली बजारमा उच्च नै हो । सुनको भाउ बढ्दै जाँदा बजारमा किन्नेभन्दा पनि बच्ने ग्राहकको संख्या उच्च रहेका कारण व्यापारीहरु बजारमा बच्नभन्दा पनि किन्नकै लागि सटर भाडामा लिएर बसेजस्तो देखिन थालेको छ ।

यही क्रममा बिजशालाका प्रतिनिधि बिहीबार काठमाण्डौको व्यापारिक केन्द्र न्युरोड पुग्दा अधिकांश सुनव्यवसायी फुर्सदिला देखिए ।

न्युरोडस्थित राज महल गहना गृहका सञ्चालक प्रकाश विश्वकर्मा चाडपर्वको सिजनमा सबैतिर रौनक छाइरहे पनि सुनचाँदी व्यवसायी पुर्पुरोमा हात राखेर बस्नुपरेको गुनासो पोखे । ‘विगतका वर्षको तुलनामा यो वर्ष चाडपर्वको यही सिजनमा ७५ प्रतिशत कारोबारमा गिरावट आएको छ’, उनी भन्छन् ।

आफूले व्यवसाय थालेको लामो समयमा पहिलोपटक यसरी व्यापारमा गिरावट आएको विश्वकर्माको अनुभव छ । ‘महिलाको महान् पर्व तिजमा पहिलेको तुलनामा मौलिक गरगहनाको कारोबार शून्यजस्तै भयो’, निराश मुद्रामा उनले भने, ‘अब यो दसैँतिहारमा झन् के व्यापार होला र ?’

विश्वकर्माले मंसिरसम्म सुनको भाउ ७० हजारभन्दा तल झर्न सक्ने आँकलन गरेका छन् ।

न्युरोडस्थित गोरखा ज्वेलर्सका सञ्चालक गंगा विक यसपालिको दसैँतिहार सुनचाँदी व्यवसायीका लागि खल्लो हुने बताउँछन् । ‘अहिले हाम्रो काम भनेको बिहान सटर खोलेर दिनभर ग्राहक कुर्ने र साँझ परेपछि बन्द गरेर रित्तो हात घर फर्किनेबाहेक अरु काम छैन’, उनी भन्छन् ।

न्युरोडकै क्विन्स् ज्वलेर्स प्रालिका सञ्चालक रवीन्द्र स्थापित पसलमा ग्राहक नआउँदा सामाजिक सञ्जालमा व्यस्त देखिन्थे । बिजशालासँगको कुराकानीमा उनले भने, ‘अहिले यसरी नै दिन बितिरहेको छ ।’

सुनको भाउ चम्के पनि व्यवसायीको मुहार चम्किन नसकेको स्थापित बताउँछन् । ‘अरुलाई चाडपर्वको रौनकले छोप्यो, हाम्रालाई चाडपर्वको खुसियालीले छुन सकेन’, निराश हुँदै उनले भने ।

त्यसो त सक्कली सुनको भाउ बढ्दै गएपछि बजारमा नक्कली र सुनका जलप गरेका गरगहना किन्न आउने ग्राहकको भीड भने बढेको व्यवसायीहरु बताउँछन् ।

अर्थविद्हरु नेपालीबजारमा सुनको भाउ बढ्नुमा थुप्रै कारणहरु रहेको बताउँछन् । अमेरिकी–चीन व्यापार युद्ध, जम्मु–काश्मीर मामिला, इरान–अमेरिक शीत युद्ध, डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुनु, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ बढ्नुले नेपाली बजारमा सुनको भाउ बढेको उनीहरुको ठम्याइ छ ।