काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण नेपालमा चाडपर्वका बेला पनि सुनचाँदीका कारोबार शून्यप्रायः बनेको छ।

नेपालमा प्रायः सुनचाँदीको कारोबार महिलाहरुको विशेष पर्व तीजबाट सुरु भएर दसैँ, तिहारहुँदै मंसिर महिनासम्म अत्यधिक हुने गर्छ। यद्यपि यो वर्ष चैत ११ गतेदेखि लकडाउन सुरु भएयता सुनचाँदीको व्यापार माथि उठ्न सकेको छैन। 

कोरोना प्रभावकै कारण व्यापार नगण्य भएपछि यसमा आश्रित लाखौँ मानिस प्रभावित भएका छन्। ‘अहिले हामी सीमित कर्मचारी तलब दिएर र घरभाडा तिरेर व्यवसाय खोलिरहेका छौँ तर व्यापार छैन’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन्।

शाक्यका अनुसार कोरोनाकै कारण करिब ४–५ हजार व्यवसायी यो पेसाबाट पलायन भएका छन्। ‘कोरोना संकटअघिसम्म देशभर लगभग २४–२५ हजार सञ्चालनमा थिए’, उनले भने, ‘अहिले घटेर २० हजार आसपासम्म झरेका छन्।’

पूर्वअध्यक्ष शाक्यका अनुसार यो पेसामा कालीगढसहित २ लाख बढीले प्रत्यक्ष रोजगार पाएका थिए। अहिले व्यापार नभएकै कारण थोरै संख्यामा कर्मचारी राखेर पसल खोल्नुपर्ने अवस्था रहेको उनले सुनाए। ‘८० प्रतिशत भारतीय कालीगढ थिए, उनीहरु घर फर्किएका छन्, कतिपय नेपाली कर्मचारीहरु पनि गाउँगाउँ फर्केका छन्’, उनले भने। 

त्यसो त यसपालि चाडपर्वमा उपभोक्ताबाट सुनका गरगहनाको अर्डर नै नभएको शाक्य बताउँछन्। ‘तीजबाट कारोबारले तीव्रता पाउने हो तर यसपालि सुनसान रह्यो’, उनले भने, ‘यसअघि दसैँतिहारमा पनि अर्डरहरु थुप्रै आउँथे तर यसपालि शून्यप्रायः छ। हामी पहिले नै बनाई राखेर गरगहना बेचिरहेका छौँ, नयाँ अर्डर आए बनाउने अवस्था पनि छैन।’

शाक्यका अनुसार यसअघि तीजदेखि मंसिर (बिहेको सिजन) सम्म दैनिक औसत ५० केजीको हाराहारीमा सुन खपत हुन्थ्यो। ‘अहिले दैनिक ५० तोला सुन पनि हुन गाह्रो भइरहेको छ’, उनले भने। 

कोरोनाका व्यापार–व्यवसायसँगै रोजगार गुम्दा उपभोक्ताको क्रयशक्ति निकै कमजोर भएका कारण पनि सुनको व्यापारमा मन्दी आएको शाक्य बताउँछन् । ‘उपभोक्ताले राम्रो आम्दानी गरेको बेला भविष्यका लागि सुन किनेर सञ्चित गर्छन् तर यसपालि उनीहरुको जीविका चलाउनमै धौधौ परेको छ’, उनले भने, ‘कतिपय ग्राहक त आफूसँग भएका गरगहना बेचेर गुजारा चलाइरहेका छन्।’

सुनको भाउ बढ्नुमा अहिले अन्तर्राष्ट्रिय बजारकै प्रभाव देखिएको छ। ‘अन्तर्राष्ट्रिय बजारमा कोरोना संकटमा अन्य क्षेत्र ठप्प हुँदा सुनमा लगानी बढ्यो, त्यसले भाउ बढाउन मद्दत गर्यो’, उनले भने, ‘अहिले विस्तार कोरोना संकटबीच विश्वभर लकडाउन खुकुलो पारेर व्यापारव्यवसाय चलाउन दिइएको छ, त्यसैले केही दिनयता भाउ घट्दै छ।’

कोरोना भ्याक्सिन आउने सम्भावना जति बढ्छ, त्यति नै सुनको भाउ घट्न सक्ने शाक्यको भनाइ छ। 

यसैगरी डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा पुनः निर्वाचित भएर सुनको भाउ बढ्ने र अर्का उम्मेदवार राष्ट्रपति पदमा विजयी भएर सुनको भाउ घट्न सक्ने अनुमान पनि शाक्यको छ। ‘ट्रम्पको अन्य देशसँगको व्यापार नीतिले संकुचित भएका कारण अन्य क्षेत्रमा लगानीको उपस्थित कमजोर हुँदा सुनमा लगानी बढ्छ, जसले भाउ पनि बढाउँछ’, उनले भने, ‘तर अरु कोही राष्ट्रपति बने, उसले अन्य देशसँग सन्तुलन व्यापार नीति कायम गर्ने अनुमानका साथ अन्य क्षेत्रमा लगानी बढ्दा सुनको माग कम भई मूल्य पनि घट्न सक्छ।’

आज प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपालको इतिहासमा सुनको भाउ गत साउन २३ गते सर्वाधिक कायम भएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।