– धर्म मलासी

काठमाण्डौ । चाडपर्वको मौसममा नियमनकारी निकायले चुस्त अनुगमन प्रक्रिया अगाडि नबढाउँदा तरकारी बजारहरूमा कालोबजारी मौलाउन थालेको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले निर्धारण गरेको मूल्यसूचीभन्दा उपत्यकाका तरकारी बजारहरुमा न्यूनतम १० देखि २० प्रतिशतसम्म बढी मूल्य लिएर उपभोक्तालाई ठग्ने काम भइरहेको पाइएको हो । नजिकिँदो चाडपर्व अझै तरकारी भाउ बढ्न सक्ने पिरलो उपभोक्तालाई भइरहेको छ ।

एकातिर दसैँ र तिहारले छोप्न लागेको छ भने अर्कोतिर उपभोक्ताको भान्सा महँगिन थालेको छ । बजार अनुगमन कडा र चुस्त हुन नसक्दा उपभोक्ता चाडपर्वको मुख जहिले पनि मारमा पर्ने गरेको काठमाण्डौ काँडाघारीका कुमार शर्माले गुनासो पोखे । ‘सरकारले बेलैमा अनुगमन चुस्त पारी बजारमा देखिएको कालोबजारी नियन्त्रण गर्नुपर्छ’, उनले भने।

बजार समितिले नेपाली र भारतीय ठूलो गोलभेडा खुद्रा मूल्य प्रतिकेजी ९० रुपैयाँ कायम गरेको छ । तर काठमाण्डौका तरकारी बजारहरुमा यी गोलभेडा २२ प्रतिशतसम्म बढी क्रमशः प्रतिकेजी न्यूनतम १०० रुपैयाँदेखि ११० रुपैयाँसम्म बिक्री भइरहेको पाइएको छ । ‘यो सरासर कालोबजारी भएन’, शर्मा आक्रोश पोख्छन्, ‘उपभोक्ता कहिलेसम्म पिल्सिने ?’

त्यस्तै बजार समितिले रातो र सेतो आलु क्रमशः प्रतिकेजी ६० र ५० रुपैयाँ तोकेको छ । तर तरकारी बजारहरुमा यी आलु क्रमशः ८० र ७० रुपैयाँसम्म बिक्रीवितरण भइरहेको छ । आलुमा पनि तोकिएको खुद्रा मूल्यभन्दा २५ प्रतिशतसम्म बढी लिइएको पाइएको छ । ‘तरकारी भाउ छोइनसक्नु छ’, तिनकुनेका सतिश घले भन्छन्, ‘व्यापारीको मनोमानी छ, खोइ कसले अनुगमन गर्ने ? कसले नियन्त्रण गर्ने ?’

यसैगरी बजार समितिले खुद्रा मूल्य सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ । तरकारी बजारहरुमा भने ७५ रुपैयाँदेखि ८० रुपैयाँसम्म व्यापारीले लिने गरेका छन् । यस्तै मूला, काउली, लसुन, धनियाँलगायतका वस्तुमा तोकेको खुद्रा मूल्य २० प्रतिशतसम्म बढिरहेको लिने गरेको पाइएको छ ।

व्यापारीहरुले भने बजार समितिले तोकेकै मूल्य तरकारी तथा फलफूल बिक्री गर्न नसकिने बताएका छन् । उनीहरुले त्यहाँबाट ल्याउँदा ढुवानी खर्च पनि पर्ने भएकोले बजार समितिले तोकेको मूल्यमा २–४ रुपैयाँ बढी पर्ने गरेको दाबी गर्छन् ।