काठमाण्डौ । चाडपर्वको सिजन सुरु भइसकेको अवस्थामा नेपाली बजारमा सुनको भाउ भने लगातार घटिरहेको छ । भाउ घटेसँगै बजारमा सुनको कारोबार पनि बढ्न थालेको छ ।

गत भदौ ९ गते नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला छापावाल ७३ हजार ५०० र तेजाबी ७३ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको भाउ उच्चतम विन्दुमा पुग्दा कारोबार प्रायः ठप्प भएको थियो । अमेरिका–चीन व्यापार युद्ध, जम्मु–काश्मीर विवाद र डलरको मूल्य नेपाली मुद्राभन्दा बलियो हुँदा सुनको भाउ निकै बढेको अर्थ विश्लेषकहरुले बताएका थिए ।

लगातार दुई सातादेखि सुनको भाउमा गिरावट आइरहेको छ । पहेँलो धातु सुनको भाउ फेरि आज मंगलबार एकैपटक तोलामा ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८०० रुपैयाँले घटेर सुनको भाउ प्रतितोला छापावाल ६९ हजार २०० रुपैयाँ र तेजाबी ६८ हजार ९०० मा झरेको छ ।

कारोबारको दोस्रो दिन सोमबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ प्रतितोला छापावाल ७१ हजार र तेजाबी ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला छापावाल ७१ हजार २०० र तेजाबी ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

विश्लेषकहरुले सुन यतिखेर किन्दा फाइदा हुने बताउँछन् । चाडपर्वको सिजन सकिएलगत्तै विवाहवारीको सिजन सुरु हुने भएकोले सुनको भाउ पुनः बढ्न सक्ने उनीहरुको आँकलन छ ।