-हेमन्त केसी 
जाजरकोट । ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थान जिल्ला शाखाले कारबाही गरेको छ । 

संस्थानले खाद्य संकट परेका बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एण्ड सपना सप्लायर्स भेरी २ लाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोडेको छ । 

एक हजार क्विन्टल खाद्य सामग्री ढुवानी गर्ने गरी ठेक्का स्वीकृति गराएको सो सप्लायर्सले ११९ क्विन्टल मात्र ढुवानी गरेको र अरु चामल ढुवानी गर्न आनाकानी गरेपछि कालोसूचीमा राखेर कारबाही गर्नुका साथै नयाँ ठेक्का ठेकेदारलाई ढुवानीको जिम्मा दिइएको शाखाका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सरकारले चालू आर्थिक वर्षमा नायकवाडाको घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो ।समयमा ढुवानी नगर्दा चामल लिन डिपो आएका सर्वसाधारण रित्तै फर्कन थालेका छन् । 

कममा ढुवानी गर्ने समहमति 

कालोसूचीमा परेको सप्लायर्सले जाजरकोट खलंगादेखि डिपोसम्मको ढुवानी घटाघटमा प्रतिक्विन्टल एक हजार ४७५ मा ठेक्का सदर गरेको थियो । खलंगा बारेकोट ढुवानीका लागि कम्तीमा रु एक हजार ८०० प्रतिक्विन्टल लाग्ने गरेको छ । स्वीकृत दरमा ढुवानी गर्दा प्रतिक्विन्टल करिब रु ३०० घाटा हुने देखिन्छ । 

चामल ढुवानी गर्नुपर्ने दबाब परेपछि घाटा सहेर ढुवानी गर्नुभन्दा उनी कारबाही भोग्न तयार भएका हुन् । गत वर्षहरूमा डिपोमा कर्मचारी नहुँदा बाटोमै बिक्री गर्ने र सबै चामल ढुवानी नगर्ने भएकाले कमदरमा पनि ठेकेदारले फाइदा लिने गरेका थिए । त्यही प्रक्रिया अपनाउनका लागि नै ठेकेदारले ढुवानी गर्न आनाकानी गरिरहेका अनुमान सम्बद्ध व्यक्तिको छ तर यसपटक जनप्रतिनिधि आएका र डिपोमा पनि कर्मचारी भएकाले ठेकेदार चामल ढुवानी गर्नुपर्ने दबाब परेको थियो । ढुवानीको जिम्मा लिएका सप्लायर्सका प्रोपराइटर सुनारले खच्चड नपाइएको र बाटो अप्ठ्यारोे भएकाले चामल ढुवानीमा ढिलाइ भएको स्वीकार गर्नुभयो । उहाँले असारसम्म ढुवानी गर्ने सम्झौता भए पनि बीचमै टेण्डर तोडेकाले धरौटी रु ७३ हजार गुमेको र आफ्नो फर्मलाई कालोसूचीमा राखेकोमा न्यायका लागि अदालत जाने बताउनुभयो । 

सदरमुकाममा छ गाउँमा छैन 

जिल्ला सदरमुकाम खलंगास्थित खाद्य संस्थानमा अहिले बिक्री नभएर चामल थन्किएको छ भने ग्रामीण भेकमा रहेका खाद्य डिपोमा भने चामल नपुगेर स्थानीय हैरान छन् । प्रत्येक डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरिए पनि हालसम्म बारेकोटको घाट डिपोमा ११९, दशेरास्थित खाद्य डिपोमा ३२९ क्विन्टल, पजारुको घोगीमा ३५१ र रग्दाको चौखामा ७०० क्विन्टल चामल ढुवानी गरिएको सो शाखाले जनाएको छ । 

किन हुन्छ बारेकोटमा अभाव 

साविकका सक्ला, रामीडाँडा, रोकायगाँउ र नायकवाडा गाविस मिलाएर बनाइएको यो बारेकोट गाँउपालिका जुम्लासँग सिमाना जोडिएको छ । यहाँ उत्पादित अन्नले छ महिना पनि नपुग्ने र आयस्रोतका अन्य माध्यम नहुँदा स्थानीय रोजगारीका लागि भारत जाने गर्दछन् । 

उच्च लेकाली भूभाग भएकाले धान उत्पादन न्यून हुन्छ । जौ, गहँु, मकै, कोदो, फापर फल्ने यस क्षेत्रमा स्थानीय उत्पादनमा खासै जोड नदिंदा खाद्य संस्थानकै भरमा स्थानीय छन् ।स्थानीय वीरेन्द्रऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्नुहुन्छ , श्रम गर्ने बानी हटिसक्यो, भाते बानीले गर्दा पनि बारेकोटमा सधँै चामलको अभाव हुने गरेको हो । 

श्रम गर्ने युवा जति कामको खोजीमा भारतलगायतका खाडीमुलुकमा गएकाले गाउँमा प्राय बालबालिका, महिला र वृद्धवृद्धा मात्र छन् ।