– नरेन्द्रसिंह कार्की 

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छांगरु र तिंकरमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। 

गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो। विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले योपटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन्। अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन्। 

गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो रु २५० सम्ममा खरिद बिक्री हुन थालेको छ। चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छांगरुमा रु. २५० प्रतिकिलो खरिदबिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले जानकारी दिए। “नेपालकै भूमि भएर कुञ्चा (बसाइँसराइ) सर्दा बाटोघाटो थिएन। अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ। चामल किन्न पाइँदैन। केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ”, खातीले भने, ‘अहिले छांगरु र तिंकरमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन्।’

अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता पुराना अन्न अहिले आएर प्रयोग गर्दै आएका छन्। 

सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ। विगतमा रु ८० देखि ९०  प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ। “घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्”, स्थानीय गीता बोहराले भने। 

पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ। समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन्।

व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी छांगरु र तिंकरके लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताउँछन्। यहाँका दुवै गाउँका लागि सदरमुकाम खलंगामा खाद्यान्न पुगिसकेको बताउँदै उनले भने, “मौसम सफा हुने बित्तिकै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ।” 

दुवै गाउँका लागि सरकारले २०० क्विन्टल खाद्यान्न पुर्याउँदैछ। अहिले छांगरुमा ११९ घरधुरी र तिंकरमा ७० घरधुरी छन् भने दर्जन बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन्। 

छांगरु र तिंकरमा खाद्यान्न ढुवानी गर्न शनिबार हेलिकप्टर प्रस्थान गरे पनि मौसममा सुधार हुन नसक्दा बीच बाटोबाटै फर्किएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवै गाउँमा हेलिकप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी शुरु गर्ने तयारी गरे पनि मौसम खराबी हुँदा हेलिकप्टर ती गाउँमा जान नसकेको हो।

शुक्रबार सदरमुकाम खलंगामा पुगेको हेलिकप्टरले शनिबार मध्याह्न हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी गरेको थियो। सदरमुकाम खलंगाबाट मध्याह्न हिँडेको हेलिकप्टर थिभीरभन्दा माथि जान नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए। बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर थिभन्दा माथि जान नसकेपछि सदरमुकाम खलंगा फर्किएको छ। 

पहिलो दिन गाउँपालिका अध्यक्ष बुढाथोकी, नेपाली काँग्रेस पार्टी सभापति ललितसिंह बोहरा, वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहरा र गाउँ कार्यपालिका सदस्य वासु ऐतवाल लिएर हेलिकप्टर खलंगाबाट उडेको थियो।

छांगरु र तिंकरमा एकरएक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए। प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि ती गाउँमा खाद्यान्न ढुवानी शुरु गरिएको उनको भनाइ छ।

चामल ढुवानीको प्रतिस्पर्धामा तीन वटा हवाई कम्पनीले सहभागिता जनाएका थिए। सबैभन्दा न्यून प्रतिकिलोग्राम दुई सय ४९ रुपैयाँ ९८ पैसा भाडा कबोल गर्ने माउन्टेन हेलिकप्टर कम्पनीसँग चामल ढुवानीको सम्झौता गरिएको थियो। सोहीअनुसार सदरमुकाम खलंगामा दुईवटा ट्रकमार्फत खाद्यान्न पुर्याइएको छ। खलंगाबाट हेलिकप्टरमार्फत छांगरु र तिंकर गाउँमा खाद्यान्न पुर्याउन लागिएको हो। 

खाद्य संस्थानले भने छांगरु र तिंकरका स्थानीयलाई प्रतिकिलो रु. ५१ का दरले चामल उपलब्ध गराउने जनाएको छ। संस्थानले सुर्खेतबाट दार्चुला सदरमुकामसम्म सडकमार्फत खाद्यान्न पुर्याएको छ। हेलिकप्टरले एक पटकमा पाँच क्विन्टल खाद्यान्न ढुवानी गर्नसक्ने जनाएको छ।

- RSS