काठमाण्डौ । सरकारले निकट भविष्यमै चारवटा एयरपोर्टबाट रात्रिकालीन आन्तरिक उडानको सेवा सुरु गर्ने घोषणा गरेको छ । 

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् । 

उनले निकट भविष्यमै राजविराज, जनकपुर, भरतपुर र सुर्खेत विमानस्थलबाट रात्रिकालीन हवाई सेवा समेत सुरु गर्न लागिएको जानकारी दिए । 

राजविराजमा संभाव्यता अध्ययन भइसकेको र त्यहाँको रिपोर्ट सकारात्मक आएको उल्लेख गर्दै भरतपुर, जनकपुर र सुर्खेतमा चाँडै सभाव्यता अध्ययन थालिने उनले जानकारी दिए । 

अन्य २ क्षेत्रको संभाव्यता रिपोर्ट समेत सकारात्मक आएपछि रात्रिकालीन उडान सुरु हुनेछ । उनले भने ः त्यसपछि यी क्षेत्रीय विमानस्थलबाट २४ सै घण्टा उडान गर्ने सेवा सुचारु हुनेछ । 

यसअघि सरकारले भद्रपुरबाट रात्रिकालीन उडान सुरु गरिसकेको छ । त्यहाँको रात्रिकालीन सेवा भने अपेक्षित रुपमा सफल हुन सकेको छैन । 

यस्तै, पर्यटनमन्त्री भट्टराईले अब देशका सबै एयरपोर्टहरुमा आपतकालीन उद्धार तथा अग्नी नियन्त्रणका लागि २४ सै घण्टा जनशक्ति परिचालन गरिने समेत जानकारी दिए ।