काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको रिपोर्ट हालसम्म ४ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । यीमध्ये अधिकांशको वित्तीय विवरण सन्तोषजनक छ  । एभरेष्ट बैंक,  सिद्धार्थ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एशिया बैंकले तेश्रो त्रैमासको वित्तीय विवरण पस्किएका हुन् । 

यीमध्ये एनआइसी एशिया बैंकको नाफा घटेको छ भने बाँकी ३ बैंकको नाफा बढेको छ । सिद्धार्थ बैंकले सबैभन्दा बढी २८ प्रतिशतले नाफा बढाएको छ । तर, बैंकको बित्तीय स्वास्थ्यका लागि खूद नाफा मात्र एउटै  र महत्वपूर्ण पक्ष होइन । बैंकको समग्र व्यवसायको बिस्तार, त्यसबाट प्राप्त हुने खूद ब्याज आम्दानीतर्फको प्रगति, निक्षेप तथा कर्जा परिचालनमा देखिएको प्रगति, रिजर्ब कोषको आकार, निस्क्रिय कर्जाको अवस्था लगायतका सूचकमा भने एनआइसी एशिया बैंकको प्रगति निकै लोभलाग्दो छ । आक्रामक ढंगले सेवा बिस्तारमा लागेको एनआइसी एशियाको खर्च बढ्नु स्वभाविक हो, उसले सुखद भविष्यका लागि आधारहरु तयार गर्दा अहिले खर्च बढेको देखिए पनि अधिकांश सूचकतर्फको प्रगतिले भविष्यमा यो बैंकको अवस्था  निकै राम्रो हुनसक्ने देखिन्छ । 

रिपोर्ट पस्किएकामध्ये सिटिजन्स बैंकको प्रगति समेत सन्तोषजनक छ । शालीन ढंगले सम्हालिएर अगाडि बढिरहेको यो बैंकको दौडाई समेत अरुका लागि अनुकरणीय बन्नसक्छ । 

यी चारैवटा बैंकको अवस्था कस्तो छ ?  हेरौं प्रत्येकले पस्किएको वित्तीय विवरणको छोटो विश्लेषण:

एनआइसीको ब्याज आम्दानी, निक्षेप र कर्जामा छलाङ

एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटे पनि खूद ब्याज आम्दानी, निक्षेप र कर्जा परिचालनमा छलाङ मारेको छ । 

आक्रामक रुपमा शाखा बिस्तारमा लागेका कारण खर्च बढे पनि यो बैंकको प्रगतिमा भने सकारात्मक संकेतहरु देखिएका  छन् । 

बैंकको गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब १३ करोड नाफा भएको थियो । यो वर्ष सोही अवधिमा नाफा घटेर ९२ करोड ६७ लाखमा सीमित बन्न पुगेको हो । 

बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीमा उत्साहजनक बढोत्तरी भएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८४ करोड रहेको यस्तो आम्दानी बढेर २ अर्ब  ६५ करोडको उचाईमा पुगेको हो । 

बैंकले यो अवधिमा १ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७९ अर्ब निक्षेप संकलन गरी ६८ अर्ब २१ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले खराब कर्जालाई समेत घटाउने कार्यमा सफलता प्राप्त गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ०.४६ प्रतिशत रहेको खराब कर्जा यो वर्ष घटेर ०.२२ प्रतिशतमा झरेको हो ।

अघिल्लो वर्ष २३.८७ रुपैयाँ रहेको वार्षिकीकृत  प्रतिसेयर आम्दानी घटेर १५.४० रुपैयाँ भएको छ भने पीई २०.९७ गुणा कायम भएकोछ । 

तेश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने रिजर्बकोषमा ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । 

सिटिजन्स बैंकको नाफामा नयाँ रेकर्ड

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो बैंकको नाफा १४.३९ प्रतिशतले वृद्धि भएको हो । 

यो बैंकले तेश्रो त्रैमासमा नाफाको हिसाबले अर्ब क्लबमा प्रवेश गरी नयाँ इतिहास रचेको हो । 

शुक्रबार बैंकले प्रकाशित गरेको बित्तीय विवरणअनुसार यो बैंकले तेश्रो त्रैमाससम्म १ अर्ब खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ८८ करोड २८ लाखमा सीमित थियो ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी १ अर्ब २५ करोडबाट वृद्धि भई १ अर्ब ४६ करोडको उचाईमा पुगेको छ । 

बैंकले संचालन मुनाफालाई समेत राम्रोसँग बढाएको छ । अघिल्लो वर्ष ८८ करोड ७१ लख रुपैयाँ रहेको यस्तो नाफामा ३३ प्रतिशतको हाराहारीमा प्रगति गरी समीक्षा अवधिमा १ अर्ब १७ करोडको उचाईमा पुर्याएको हो । 

बित्तीय स्वस्थता मापन गर्ने अर्को महत्वपूर्ण सूचक रिजर्बमा समेत बैंकले प्रगति गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म रिजर्ब कोषमा २ अर्ब १७ करोड रहेकोमा यो वर्ष बढेर २ अर्ब ३७ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ४७ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो  

बैंकले निस्क्रिय कर्जा अनुपातलाई समेत घटाएको छ । अघिल्लो वर्ष यही अवधिमा १.५५ प्रतिशत रहेकोमा घटेर १.४६ प्रतिशतमा झारेको छ । 

बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको यस्तो पूँजी ५ अर्ब ८७ करोड रुपैयाँ थियो । यसरी बैंकको पूँजीतर्फ ३७ प्रतिशतको हाराहारीमा वृद्धि भए पनि खूद नाफातर्फ भने १४.३९ प्रतिशतको मात्र वृद्धि भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेकोमा केही घटेर यो वर्ष १६.७६ रुपैयाँ  कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५१ गुणा कायम भएको छ ।

एभरेष्टको नाफामा १८ प्रतिशतको वृद्धि

राष्ट्रबैंकले तोकको चुक्ता पूँजी दोस्रो त्रैमासिक अवधिमा नै पु¥याएको एभरेष्ट बैंकको नाफा १८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब ८० करोड ३४ लाख ८१ हजार रुपैयाँ पुगको छ । यो गत वर्षको यही अविधको भन्दा १८ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १ अर्ब ५२ करोड ५८ लाख ८२ हजार खुद नाफा आर्जन गर्न सकेको हो । गत वर्ष बैंकको चुक्ता पूँजी ४ अर्ब ६० करोड मात्र रहँदा गरेको सो आम्दानीका तुलनामा यस वर्षको आम्दानी अपेक्षाकृत कम नै हो । यस वर्ष बैंकको चुक्ता पूँजी ८ अर्ब पुगिसकेको छ । 

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन मुनाफा पनि बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब २५ करोड ९ लाख ४१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा करीव ५७ करोड ५९ लाख ७९ हजार रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले २ अर्ब ६७ करोड ४९ लाख ६२ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो । 

यसैगरी बैंकको सञ्चालन मुनाफा समेत वृद्धि भएको छ । समीक्षा अवधिम बैंकले २ अर्ब ७९ करोड ८२ लाख ९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत वर्ष अार्जन गरेकाे मुनाफा २ अर्ब ७ करोड ५२ लाख ४७ हजार रुपैयाँ भन्दा १८ दशमलव ८ प्रतिशतले बढी हो । 

पहिलो र दोस्रो त्रैमासभन्दा प्रतिशेयर आम्दानी वृद्धि गर्दैैं लगेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ९३ रुपैयाँ रहेको छ । यसैगरी मूल्य आम्दानी अनुपात २६ दशमलव ६० प्रतिशत रहेको छ । आगामी दिनमा नाफा अझ विस्तार गर्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्दै जाने रणनीति बैंकले बनाएको छ । कम्पनीले कर्मचारी र अन्य व्यवस्थापनमा समेत राम्रै खर्च गर्दै आएको वित्तीय विवरणले देखाएको छ । राष्ट्र बैंकले तोकेको समयसीमामा नै पूँजी वृद्धि गरेको बैंकको नाफा अपेक्षाकृत कम नै हो । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ९६ रुपैया रहेको छ ।

सिद्धार्थको इपीएस घट्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सिद्धार्थ बैंकको नाफा २८ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशन गरेका तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकका खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको यही अविधको भन्दा २८ दशमलव ०२ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ९५ करोड ७० लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन मुनाफा समेत बढेकाले नाफा वृद्धि गर्न सफल भएको हो । यस अवधिमा बैंकले २ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा करीव ३४ करोड रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब ८६  करोड रुपैयाँ व्याज आम्दानी गरेको थियो । 

यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत सुधार आएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३४ करोडले बढी हो । गत वर्षको यही अवधि सम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । 

गत वर्षका तुलना यस वर्ष बैंकको प्रतिशेयर आम्दानी भने कम भएको छ । कम्पनीको चुक्ता पूँजी वृद्धि भएका कारण प्रतिशेयर आम्दानी कम भएको हो । गत वर्ष २४ दशमलव ३० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष २० दशमलव ३९ रुपैयाँमा झरेको छ । 

यस अवधिमा कम्पनीले कर्जा प्रवाहमा समेत विस्तार गरेको प्रतिवेदनले देखाएको छ । समीक्षा अवधिसम्ममा बैंकले ७९ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यही अवधिसम्ममा बैंकले ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । 

बैंकले खराब कर्जा अुनपात भने कम गर्दै लगेर १ दशमलव ३१ प्रतिशतमा कायम गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ९५ रुपैया कायम भएको छ ।