काठमाण्डौ । आज(बिहीबार)देखि चारवटा कम्पनीको आइपीओमा आवेदन दिने समय सकिँदैछ । 

रसुवागढी र साञ्जेन जलविद्युत कम्पनी, गणपति माइक्रोफाइनान्उ र युनियन हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 
आज ५ बजेभित्र इच्छुक लगानीकर्ताले यी ४ कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

अब हेरौं कुन कम्पनीको आइपीओमा बुधबारसम्म कति परेको छ आवेदन ?

साञ्जेन र रसुवागढी
साञ्जेन र रसुवागढीको आइपीओमा मागेभन्दा बढी आवेदन परेको छ । 

यी दुवै आयोजनाको आइपीओमा आवेदन दिन छिटो मितिमा २ दिन थप गरिएसँगै आवेदन पर्ने क्रम बढेको हो । 

बुधबार साँझ ५ बजेसम्म साञ्जेनको आइपीओमा करिब ३ गुणा र रसुवागढीको आइपीओमा करिब २ गुणा बढी आवेदन परेको छ । 

साञ्जेनको आइपीओमा आइपीओ निश्कासन भएको पाँचौ दिन बुधबार साँझ ५ बजेसम्म कुल २ लाख ९० हजार १५६ जनाले १ करोड ३५ लाख ६१ हजार ९२० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले १०० रुपैयाँ अंकित दरका ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निश्कासन गरेको छ । कुल निश्कासितमध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीका लागि, २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यस्तै, रसुवागढीको आइपीओमा मागेभन्दा करिब दुई गुणा बढी आवेदन परेको छ । 

यो कम्पनीको आइपीओमा २ लाख ९२ हजार ७५३ जनाले १ करोड ६९ लाख ४८ हजार ८०० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको  १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ निश्कासन गर्नेछ । कुल निश्कासन हुने कित्तामध्ये ४ लाख १० हजार ५२६ कम्पनीका कर्मचारीका लागि, ५ लाख १३ हजार १५७ म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

साञ्जेन जलविद्युत कम्पनी लिमीटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले शुक्रबार(बैशाख ६ गते)देखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेका हुन् ।

साञ्जेनको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । 

यी दुवै आयोजना कम्पनी चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी हुन् ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । 

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

सरकारी निकायको लगानी रहेको र प्रति मेगावाट लागत निकै कम रहेका दुवै आयोजना लगानीका लागि योग्य छन् । यी दुई आयोजनामा जोखिम समेत अन्य जलविद्युत कम्पनीको तुलनामा कम रहेको छ । 

दुवैको आइपीओमा बिहीबारसम्म आवेदन दिन सकिनेछ । 

युनियन हाइड्रो
युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर मुश्किलले बिक्री भएको छ । 

आवेदन दिन समय एक दिन मात्र बाँकी छँदा यो कम्पनीको आइपीओ बिक्री भएको हो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार बुधबार साँझसम्ममा देशभरबाट ४५ हजार ८७२ जनाले ३५ लाख ९१ हजार ७१० कित्ता खरीदका लागि आवेदन दिएका हुन् । 

यो कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासन गरेको हो । 

पहिलो चरणमा आइपीओ नबिकेपछि ढिलोमा बैशाख १२ गतेभित्र आवेदन दिइसक्नुपर्ने भन्ने थियो । यसको अर्थ ढिलोमा आवेदन दिन भनेर तोकिएको समयसीमामा कम्पनीको आइपीओ बिक्री भएको छ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले सेयर निश्कासन हुने भएकोले साथमा ५ हजार रुपैयाँ हुनेले यो कम्पनीको सेयरमा आवेदन दिन सक्नेछन्।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन । 

बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो । 

यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था कमजोर छ भन्ने हो । 

युनियन  हाइड्रोपावरले ३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।

यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम हुनेछ ।

गणपति माइक्रोफाइनान्स
गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म मागभन्दा करिब १९ गुणा बढी आवेदन परेको छ ।

यो माइक्रोफाइनान्सले आइपीओ निश्कासन गरेको तेश्रो दिन बुधबार साँझ ५ बजेसम्म २ लाख ९४ हजार ३० आवेदकबाट ५९ लाख १३ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् । 

बैशाख ९ गते(सोमबार)बाट यो कम्पनीले निश्कासन गरेको आइपीओमा छिटोमा बैशाख १२ गते र ढिलोमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम १० देखि अधिकतम १५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

कुल निश्कासन हुने कित्तामध्ये ५ हजार १७५ कम्पनीका कर्मचारीका लागि, १६ हजार ७५० म्युचुअल फण्डहरुका लागि र बाँकी रहने ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

यो माइक्रोफाइनान्सको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु. १० करोड माथि पुग्नेछ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

तनहुँको दुलेगौढामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा दिइरहेको छ ।

यो कम्पनीको आइपीओलाई केयर रेटिंग्स नेपाल लिमीटेडले केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ ।

यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो। 

केयर रेटिङ्स नेपालले आइपीओलाई ग्रेड १ देखि ५ सम्मको रेटिंग दिंदै आएको छ । सबैभन्दा बलियो आधार जनाउने आइपीओलाई ग्रेड १ र सबैभन्दा कमजोर कम्पनीको आइपीओलाई ग्रेड ५ को रेटिङ दिइने गरिन्छ।