काठमाण्डौ । नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्।

कार्यकारी निर्देशकहरु लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनील उदास र सरिता भट्ट छिटै अवकाश हुन लागेका हुन् ।

निरौला मुद्रा ब्यवस्थापन विभाग र श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्। दुवैले वाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र बैंकका तर्फबाट नेपाल बैंक सुधार गर्न श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए भने एनसीसी बैंक सुधारका लागि निरौला सञ्चालक समितिको अधिकारसमेत लिएर ब्यवस्थापन समिति प्रमुख भएका थिए।

निरौला र श्रेष्ठ आगामी सोमबारबाट बिदा बस्दैछन्।

त्यस्तै भट्ट विदेशी मुद्रा ब्यवस्थापन विभाग र उदास फाइनान्स कम्पनी सुपरिवेक्षण विभागका प्रमुख छन् । उनीहरु करिब वर्ष दिन अघिमात्रै निर्देशकबाट कार्यकारीमा बढुवा भएका थिए। अवकाशका लागि भट्ट र उदास बिदा बसिसकेका छन् ।

यी चारैजनाको अवकाशपछि रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धर कार्यकारी निर्देशक बन्ने राष्ट्र बैंक स्रोत बताउँछ ।