काठमाण्डौ । देशभर आजबाट होटेल तथा रेस्टुराँका साथै पर्यटन क्षेत्र खुल्ने भएका छन्।

गत साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले साउन १५ गतेदेखि पर्यटन, ट्रेकिङ, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरेको थियो। सोहीअनुसार लकडाउनयता बन्द रहेका होटेल तथा रेस्टुराँसँगै पर्यटन क्षेत्र झन्डै १२५ दिनपछि खुला भएका हुन्। 

आर्थिक गतिविधि चलायमान बढाउन गत असार १ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरिएको थियो। यसका बाबजुद केही प्रतिबन्धहरु भने कायम राखिएका छन्। 

सार्वजनिक सवारीसाधन पनि चल्न थालिसकेका छन्। लामो दूरीका सार्वजनिक सवारीसाधन भने भदौ १ गतेदेखि सञ्चालन ल्याउने सरकारको तयारी भइरहेको छ। 

भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदैछ। सोही दिनबाट आन्तरिक र बाह्य व्यावसायिक हवाई उड्यान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ। ती क्षेत्रमा मानिसको बढी भीडभाड हुने भएकाले स्वास्थ्य चुनौती बढी हुन्छ र अहिलेको भन्दा अझै सावधानी अपनाउनुपर्छ भन्छन् विज्ञहरु। 

अघिपछि व्यवसाय नखुल्दा, बन्दाबन्दी जारी रहँदा मानिसको भीडभाड कम हुन्थ्यो। जोखिम कम थियो। साउन १५ देखि भने त्यो अवस्था रहँदैन। त्यसैले जति भीडभाड भयो उत्तिकै सावधानी पनि जरुरी छ। त्यसबेला व्यक्तिले मात्रै सुरक्षा मापदण्ड अपनाएर हुदैन। कुनै होटल सञ्चालन गर्नुपर्यो भने होटलका सबै क्षेत्रलाई सङ्क्रमणरहित (डिसइन्फेक्सन) गर्नुपर्छ। अन्य पर्यटन क्षेत्र, सेवा क्षेत्र होस् या अन्य व्यावसायिक क्षेत्रमा पनि यही मापदण्ड लागू गर्नुपर्छ। आउने र जाने मान्छेलाईसमेत ख्याल गर्नुपर्छ। उनीहरुले पनि स्वास्थ मापदण्ड अपनउनुपर्छ। तब मात्रै यसबाट जोगिन सकिन्छ। 

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नका लागि आवश्यक ‘डिसइन्फेक्सन’का क्षेत्रमा काम गर्दै आएको खेम्स क्लिनिङ सर्भिसका अध्यक्ष विश्वास अधिकारी भन्छन्, “जति भीडभाड हुन्छ त्यति बढी नै सावधानी अपनाउनुपर्छ, त्यसमा पनि व्यक्तिले मात्रै सावधानी अपनाएर हुँदैन, तोकिएको क्षेत्रफल पूरै सतर्कताको घेरामा पार्नुपर्छ।” 

सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने कार्यलाई अनिवार्य शर्तको रुपमा राख्नुपर्छ। मानिसहरु ढोका खोल्नेदेखि समात्ने ठाउँ, कुर्सीमा बसेर टेबलमा कामगर्दासमेत मापदण्ड प्रयोग गर्नुपर्छ। ढोकामा स्यानिटाइजर लगाउँदैमा सुरक्षित हुन सकिँदैन। “त्यसलाई नियमित ‘डिसइन्फेक्टेड’ गरेर मात्रै सुरक्षित हुन सकिन्छ, त्यही मापदण्ड हामीले लागू गरेका छौँ, यो अन्तर्राष्ट्रियस्तरको छ”, अधिकारीले भने। एक पटक प्रयोग गरेपछि ८ घण्टासम्म काम गर्छ। त्यसपछि पुनः तोकिएको मापदण्डको रासायनिक प्रयोग गरेर ‘डिसइन्फेक्टेड’ बनाउनुपर्छ। 

होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ। यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन्। यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ। कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ। 

प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालका अध्यक्ष सिर्जना राणाको भनाइ छ। अन्य पर्यटनसँग जोडिने हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबासकार्यक्रममा भएको आर्थिक क्षति अनुमान गर्न सकिन्न। अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सञ्चलन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको पनि बताइन्। 

यस्तो अवस्थामा खुला हुनलागेका व्यवसाय सेवा क्षेत्रमा स्वास्थ्य सुरक्षित पार्नु अर्को चुनौती हो। क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष दीपक भट्टराई बाह्य राष्ट्र कोरोनाबाट बढी प्रभावित भएकाले पर्यटक आगामन हुँदा अझै सावधानी अपनाउनु जरुरी रहेको बताउँछन्। उनका अनुसार सौराहाका होटलसमेत आवश्यक सरसरफाइ र सुरक्षा मापदण्ड प्रयोग गरेर मात्रै खुल्ने तयारी गरिरहेका छन्।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन गरिएको तयारी त्यसै खेर गएको छ। यो वर्ष २० लाख पर्यटन नेपाल ल्याउने अनुमान कोरोनासँगै हराएर गयो। पर्यटकको स्वागत सत्कारका लागि ठूलो लगानी थपेका पर्यटन व्यवसायी अहिले बैंकको ब्याज तिर्न नसकेकार आलसतालस परेको बताउँछन्।