- भक्तराज रसाइली 

काठमाण्डौ । आज साउन १ गते अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिन । आर्थिक वर्ष २०७६/७७ को शुभारम्भ भएको आजको दिनलाई नेपालको सन्दर्भमा आर्थिक तथा व्यावसायिक जगतलाई नयाँ वर्ष हो ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिँदै आएको पूँजीबजारका लागि गत आर्थिक वर्षको समीक्षा र चालु आर्थिक वर्षको अपेक्षाका विषयमा बजारसम्बद्ध केही ब्रोकर, प्राविधिक विश्लेषक तथा ठूला लगानीकर्तालाई समेटेर बिजशालाले आर्थिक जगतको नयाँ वर्षका बारेमा धारणा बुझेको छ । प्रस्तुत छ, उहाँहरुको अभिव्यक्ति जस्ताको तस्तै– 

अनन्त पौडेल, अनलाइन सेक्युरिटीज प्रालि (ब्रोकर नम्बर ४९)

गत आवको समीक्षा गर्नुपर्दा सुखद् अवस्था होइन । कारोबार रकमका आधारमा समेत उल्लेख्य बढोत्तरी भएन । पूँजी बजारको ऐतिहासिक वर्ष रहेकोमा धेरै सम्बोधन पनि भए जुन कतिपय कार्यान्वयन चरणमा नै छन् । 

आगामी आर्थिक वर्षमा ती सबै कार्यान्वयन होलान् भन्ने अपेक्षा छ । संस्थागत लगानीकर्ता भित्र्याउन जोड दिन चाहन्छु ।

लगानीकर्ताहरुलाई यथार्थ जानकारी गराएर रियल सेक्टरका कम्पनी ल्याउन पहल होस् ता कि लगानी विविधीकरणमा सघाउ पुगोस् ।

म्युचुअल फण्डहरुको समयावधि बढाउनुपर्ने, पूँजीबजारका अन्य संयन्त्रको विकास होस् । नियामकले सेयरको माग सिर्जना गर्नतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । ब्रोकरहरुको क्षेत्राधिकारलाई बृहत् गर्दै ब्रोकरहरुबीच मर्जरको लहर आवोस् । 

अन्त्यमा नयाँ आर्थिक वर्षमा पूँजीबजारका नियामकीय संयन्त्र र सरोकारवालाबीचको सहकार्य बढोस् भन्दै सम्पूर्ण लगानीकर्तामा शुभकामना व्यक्त गर्न चाहन्छु । 

नन्दकिशोर मुन्दडा, श्रीकृष्ण सेक्युरिटीज प्रालि (ब्रोकर नम्बर २८) 

बजार मन्दी नै देखियो । तरलताको अभाव र उच्च बैंक ब्याजदर भएको साल भएको सम्झन चाहन्छु । आगामी मौद्रिक नीतिमा यसबारे सम्बोधन हुने आशा गर्दछु । हाल चलिरहेको बैंकहरुको बिग मर्जर सफलतापूर्वक रहोस् भन्ने अपेक्षा राख्दछु । 

विष्णु बस्याल, प्राविधिक विश्लेषक

नेप्से गत आवको सुरुआत विन्दुमै रहेको छ । तीन वर्षदेखि वियरिस अवस्था रहेको बजार अन्ततः अबको मार्केटको दिशा बुलिस मार्केट नै हो । 

आगामी आवमा अब लगानीकर्ताले सिग्निफिकेन्ट बेनिफिट लिन सक्ने र नेप्से विन्दुले नयाँ अलटाइम हाइको उचाइ लिने मेरो अपेक्षा हो । लगानीकर्ताहरुलाई बुलिस सेक्टर रहेका बैंक, उत्पादनमूलक कम्पनी र होटलमा लगानी गर्दा अत्याधिक लाभ लिन सक्नेछन् । 

छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 


गत साललाई नेप्से घटेर लगानीकर्ताहरु मारमा परेको आवका रुपमा म मूल्यांकन गर्दछु । हाम्रो फोरमका कतिपय मागहरू पाइपलाइनमा छन् । 

विगत ३.५ वर्षदेखिको नेप्से इन्डेक्समा भएको करेक्सन ११ सयकै विन्दुमा अड्कियो । अब त्यो विन्दुभन्दा तल नझर्ला भन्ने मेरो ठम्याइ हो । अहिले सेयरमा लगानीको सुवसर हो । नयाँ आवमा दैनिक कारोबार रकम ३.५ अर्ब रुपैयाँ हुने र सेबोनबाट ब्रोकर कमिसन कम हुने आशा राखेको छु । 

राम्रा र बलिया कम्पनीमा लगानीकर्ताले लगानी गरे हाल चलिरहेको बिग मर्जरबाट पनि अधिक फाइदा लिन सक्ने मेरो बुझाइ हो । आगामी आवमा सम्हालिएर लगानी गर्ने समय आइसकेको र फलिफापको वर्ष होला भन्ने मेरो अपेक्षा छ । 

उत्तम अर्याल, अध्यक्ष, सेयर लगानीकर्ता संघ 

बजार निराशाजनक रहयो । सरकारबाट ५८ बुँदे सुझाव आउनु सकारात्मक रहेको वर्ष हो । चालु आवको बजेटका सकारात्मक पक्ष भएकैले म स्वागत पनि गर्छु ।

अब कार्यान्वयनको पाटो सम्बन्धित निकायले इमान्दारीतापूर्वक गरेमा पूँजीबजारको भविष्य उज्ज्वल भएको मेरो ठहर छ । ५ प्रतिशत पूँजीगत लाभकर नै पूँजीबजारका लागि अन्तिम कर भएमा आकर्षण र सेयरको माग बढ्ने अपेक्षा मेरो हो। 

सेयरको आपूर्तिसँगै माग सिर्जना गर्ने संयन्त्रको विकास होस् मेरो यही अपेक्षा छ । 

अम्बिकाप्रसाद पौडेल, ठूला लगानीकर्ता 

मोटामोटी रुपमा त्यति धेरै सुखदु वर्ष नरहेको वर्ष रहयो । बजार १ वर्षदेखि नै प्रायः स्थिर छ । गत वर्ष पूँजीबजारले प्रविधिमा फड्को मारेकै हो । पूँजीबजारप्रति सरकार र नियामक सकारात्मक भएको मैले अनुभूत गरेको छु ।

प्राथमिक बजारले धेरै फड्को मार्यो । लगानीकर्ताका लागि प्रतिफलका हिसाबले भन्नुपर्दा गुमाएको साल हो ।

पूँजीबजारमा सबै पक्षबाट सुधारका पहल भएकाले तत्काल प्रतिक्रिया नदेखिने भएकाले सुधारको असर पर्खन केही वर्ष लाग्ने मेरो बुझाइ हो। यसले गर्दा नै पूँजीबजार राम्रो बन्दै जाने र लगानीकर्ताहरु लाभान्वित हुन सक्ने मेरो अपेक्षा रहेको अवगत गराउन चाहन्छु । 

दीपेन्द्र अग्रवाल, ठूला लगानीकर्ता 

गत वर्ष दबाब समूहको उदयसँगै पूँजीबजारका धेरै समस्या विकृतिहरु समाधान भए । नियामकहरुले सम्मानसहित सहकार्य गर्नुका साटो जुवाडेझैँ फरक खालको दृष्टिकोण राखेको पाइयो ।

नयाँ आवमा अपेक्षाहरु धेरै छन् । यद्यपि दलदलमा रहेको पूँजीबजारको विकास र विस्तारका लागि काम गर्न धेरै बाँकी छ । सरकारले दिएको ५८ बुँदे सुझावमध्ये नेप्सेले तत्काल गर्नुपर्ने काम नगरेकोले नेप्से गद्दार हो भन्ने मेरो ठम्याइ हो। 

नेप्से र धितोपत्र बोर्डमा कार्यरत कर्मचारीले पूँजीबजारको विकासका लागि काम नगर्ने हो भने सही ठाउँमा सही व्यक्तिको नियुक्ति होस् भन्ने मेरो अपेक्षा छ ।