काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका छन्।

अर्थमन्त्री खतिवडाले मंगलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै यस्ता् जानकारी गराएका हुन्। सरकारले यसअघि केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको यो वर्षको आर्थिक वृद्धिदरभन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको हो। 

यसअघि विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो। 

सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो। तर  गत फागुनपछि कोरोना संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताए।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ।