चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले स्वयम् कर घोषणा गरेर पनि कर नतिर्नेहरूलाई कालो सूचीमा राखेको छ । उनीहरूको रु २३ करोड ५४ लाख राजस्व बक्यौता रहेको छ ।

कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार, स्वयम् कर घोषणा गर्ने दुई हजार १८२ जनाले कर तिरेका छैनन् । 

तिनीहरूमध्ये रु एक लाखभन्दा माथि कर बक्यौता रहेका २३७ जना र रु एक लाखभन्दा कम बक्यौता भएका एक हजार ९४५ जना रहेका छन् ।

पटक पटक ताकेता, पत्राचार, घुम्ती शिविर सञ्चालन गर्दा पनि कर नबुझाएपछि कालो सूची प्रकाशित गरेको भुसालले बताए । ठूला करदाताबाट रु १९ करोड ३८ लाख र साना करदाताबाट रु चार करोड १६ लाख कर असुली गर्न बाँकी रहेको छ । कार्यालयले १५ दिनभित्र यस्ता करदातालाई कर बुझाउन आग्रह गरेको छ ।

पन्ध्र दिनभित्र पनि नबुझाउने करदातालाई आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया अपनाई तथा मूल्य अभिवृद्धि करको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कानुनी कारबाहीको प्रक्रिया अपनाई असुलउपर गरिने छ । विस २०५७ सालदेखि बक्यौता नतिर्ने व्यवसायीसमेत रहेका छन् ।

एउटै व्यवसायीको रु छ करोडभन्दा बढी बक्यौता रहेको छ । तोकिएको मितिमा कर नतिर्ने व्यवसायीको चल तथा अचल सम्पत्ति कब्जा, बैंक तथा अन्य बित्तिय संस्थामा रहेको करदाताको रकमबाट कट्टा, आयात निर्यात रोक्का, नेपाल बाहिर जान रोक लगाउनेसमेतका प्रक्रिया अपनाइने कार्यालय प्रमुख भुसालले बताए ।