चितवन । चितवनका बैकिंग पहुँच नपुुगेका क्षेत्रलाई लक्षित गर्दै सिभिल बैंक लिमीटेडले शनिवारदेखि बित्तीय साक्षरताका लागि घरदैलो अभियान सुरु गरेको छ । 

तीन महिनासम्म संचालन हुने अभियान प्रत्येक शनिवार हुने बैंकले जनाएको छ । पूर्वी चितवनको खुरखुरे, टाँडी, पश्चिम चितवनको पार्वतीपुर र नारायणगढका दुई शाखावाट अभियान संचालन गरिनेछ । बैंकले यो अवधिमा शूून्य मौज्दातमा खाता खोल्ने व्यवस्था र एक वर्षका लागि निशुल्क एटिएम र इन्टरनेट बैंकिङ प्रदान गर्नेछ । सो खाता अन्तर्गत साढे ८ प्रतिशत ब्याज उपलव्ध गराइने छ ।

अभियानको पहिलो दिन १ सय १५ जनाले खाता खोलेका छन् । खैरहनी नगरपालिकाको वडा नम्बर १० र ११ मा चलाइएको अभियानमा उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । 

बैंकले दिने सेवाका बारेमा सवैलाई जानकारी दिने उद्देश्यले अभियान संचालन गरेको सिभिल बैंकका खुरखुरे शाखा प्रमुख सुनिल खनालले जानकारी दिए । उनले विशेष गरेर बैंकको पहुँचबाट टाढा रहेका ग्राहकहरुलाई बैंकको पहुँच पुर्याउन अभियान संचालन गरिएको प्रष्ट्याए । यसले एक घर एक बैंक खाता अभियानलाई सार्थकता दिने खनालको भनाई छ । 

बैंकको चितवनमा ५ शाखा र देशभर ५३ शाखा रहेका छन् । अझै २५ शाखा बिस्तारको तयारीमा बैंक छ ।