चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् । 

ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १० गतेबाट २५ वटा बस सञ्चालनमा ल्याइने छ । स्थानीय २१ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । 

केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । सकेसम्म बसका चालकसहित सम्पूर्ण कर्मचारी महिला राख्न पहल भइरहेको भए पनि पहिलो चरणमा चालक पाउन मुस्किल भएकाले अन्य कर्मचारी भने महिला नै हुने अधिकारीको भनाइ छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले बताए ।

विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्नेका लागि कार्डको व्यवस्थासमेत गरिन लागेको छ । पहिलो चरणमा रु आठ करोड ५० लाख लगानी गरी बससेवा सञ्चालन गर्न लागिएको जानकारी दिँदै अधिकारीले दोस्रो चरणमा २० वटा बस थप गर्ने, पेट्रोलपम्प र ग्यारेज सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । उपमहानगरपालिकाको सहरी क्षेत्रको जनघनत्व बढे पनि व्यवस्थित यातायातको सुविधा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।