काठमाण्डौ । चितवनको भरतपुर र बाजुरामा दुईजनाको मृत्यु भएको छ । दुवै भारतबाट केही दिन स्वदेश फर्किएका थिए । दुवैमा कोरोनाको लक्षण देखिएको थियो । ती दुवैको कोरोनाका कारण नै मृत्यु भएको आशंका गरिएको छ । 

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा माडी नगरपालिकाका २७ वर्षीय एक युवकको शनिवार बिहान मृत्यु भएको सो अस्पतालस्थित स्रोतले जनाएको छ । 

ती युवक भारतबाट १२ दिनअघि स्वदेश फर्किएका थिए । उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो । 

उनको उपचारको क्रममा शनिवार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनको स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको छ । त्यसपछि मात्र कोरोनाका कारण मृत्यु भएको हो या होइन निश्चित हुने बताइएको छ । 

यसैबीच, बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा पनि एक जनाको मृत्यु भएको छ । १० दिनअघि भारतबाट स्वदेश फर्किएर स्थानीय क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । 

उनी मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बस्दै आएका थिए । शुक्रबार साँझदेखि उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको मृत्यु पनि कोरोनाकै कारण हुनसक्ने आशंका गरिएको छ । स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।