काठमाण्डौ । चीनका उद्योगी व्यवसायीको एक टोलीले झापाको दमकमा क्लिन पार्क औद्योगिक करिडर र ५४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणमा लगानी गर्ने भएको छ । 

चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आएका नौ सदस्यीय टोलीले राष्टिय गौरवको योजनाको रुपमा हेरिएको १० अर्ब बढी लगानीमा बनाइने भनिएको क्लिन पार्क औद्योगिक करिडरमा लगानी गर्ने इच्छा व्यक्त गरेको हो । 

करिडरमा चिनियाँ बाहेक जापानी, फिलिपीन्स तथा कोरियाका लगानीकर्ताले समेत लगानी गर्न इच्छा देखाएका टोलीलाई त्यहाँ पुर्याउने कामको समन्वय गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले जानकारी दिए । 

चिनियाँ लगानीकर्ताको टोलीले दमक–५ मा निर्माण हुने भनिएको ५४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणस्थल र  दमक–१९ मा निर्माण हुने (क्लिन इन्डस्ट्रियल पार्क) औद्योगिक कोरिडोर क्षेत्रको स्थलग अध्ययन गरेको थियो । 

सो क्रममा युनियनका उपाध्यक्ष चउ हुई जोनले शान्तिका दूत भगवान् गौतम बुद्धको देशमा लगानी गर्न पाउनु गौरवकोे विषय भएको बताएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बुद्धको मूर्तिसँगै निर्माण हुने अन्य चारवटा संरचनासहितको गुरुयोजना बनाउने काम अघि बढिसकेकाले छिट्टै नै संरचना निर्माणको काम अघि बढ्ने बताए । उनले अहिले बुद्धको मूर्ति निर्माणका लागि सात विगाह जग्गा प्राप्त भइसकेकाले थप अन्य जग्गा खोज्ने काम पनि एक साथ अघि बढिरहेको जानकारी दिए । 

उद्योगी राजकर्णीकारले पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण प्रशस्त हँुदै गएकाले यसले आफूहरूलाई निकै उत्साही बनाएको बताए  । 

विराटनगरमा छलफल, हाइड्रोमा पनि लगानी गर्ने इच्छा
नेपालको पूर्वी क्षेत्रका उद्योग र जलविद्युत आयोजनाहरुमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुले इच्छा व्यक्त गरेका छन् । सोमबार मोरंगको विराटनगर पुगेको चिनियाँ ग्लोबल एनजीओ युनियन चाइनाको प्रतिनिधि मण्डलसँग मोरंग व्यापार संघका अधिकारीले लगानीको संभावनाको बिषयमा छलफल गरेका थिए । 

प्रतिनिधि मण्डललाई स्वागत गर्दै संघका अध्यक्ष पवनकुमार सारडाले चीनको लगानी नेपाल ल्याउँदा पर्ने कुनै पनि समस्या समाधान गर्न आफूहरु तयार रहेको बताए । 

यसैगरी, पूर्वाञ्चल विकास क्षेत्र चारवटा मुलुक भारत, चिन, भुटान तथा बंगलादेशको  प्रवेशद्धारको रुपमा रही आएको तथा प्रमुख औद्योगिक र व्यापारीक नगरीको रुपमा विराटनगरको पहिचान भएको बताउंदै विराटनगरको भौतिक संरचना र विकास निर्माणको कार्य द्रुतगतिमा हुँदै आएको बताए । हाल मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले जूट, चाउचाउ, विस्कुट, सावुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, विजुलीको तार, जिआइपाइप, चामल, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो लगायत धेरै वस्तुहरु उत्पादन गर्दै आइरहेको चिनिया टोलीलाई जानकारी गराइएको थियो । 

युनियनका उपाध्यक्ष चउ हुई जोनले आफू मातहतका ७ सय औद्योगिक लागानीकर्तालाई नेपालमा लगानीका लागि ल्याउन सकिने बताउँदै आफूहरु हाइड्रोपावरमा लगानी गर्न तयार रहेको बताए । नेपालबाट व्यापार गर्न चाइना, भारत, भुटान र बंगलादेश नजिक रहेकोले उत्पादन बिक्री सहजै गर्न सकिने उल्लेख गर्दै पूर्वाञ्चलको विराटनगर र झापामा उद्योग स्थापनाका लागि अध्ययन गर्न यस क्षेत्रको भ्रमण गर्न आएको समेत उनले प्रष्ट्याए । 

सो कार्यक्रममा ब्लू स्काइ इन्टरनेशनल होल्डसर कम्पनी लिमिटेडका अध्यक्ष जैन ली ले नेपालमा पावर प्रोजेक्ट लगाउन सकिने भन्दै त्यसमा लगानी गर्न चीन तयार रहेको बताए । त्यस्तै नेपालका स्थानीय उत्पादनहरुलाई अन्तराष्टियकरण गर्न सकिने उनले बताए । ३० बर्ष अघि चाइनाले नेपालकै स्थिति भोगेको बताउँदै चाइना अहिलेको आवस्थामा आइपुग्न ३० बर्ष लागेको र नेपालले चाहे चाँडै विकास हुने समेत उनको भनाई थियो । 

छलफल कार्यक्रममा  चिनियाँ टोलीलाई लगानीको संभावित क्षेत्रको भ्रमण गराउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णीकारले चिनियाँ कम्पनीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरे ।