कावासोती । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सञ्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।  

चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा मंगलबार आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो । 

यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । ‘दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ ।’ होङ्सी शिवम् सिमेन्टका प्राविधिक  शिवरत्न अटलले भने–‘बाटो र विद्युत्का बारे सरकारसँग कुरा भइरहेको छ ।’

‘उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ ।’ उनले भने–‘हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।’

तीन वर्षमा उत्पादन  बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ ।  दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् ।  नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताए । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ । 

स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ  बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्ने होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले बताए । सुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेन्ट उत्पादन हुने उनले बताए । ओपिसी र पिपिसी दुवै सिमेन्ट यहाँ उत्पादन हुन्छ । 

सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयवासी घनश्याम गिरीले बताए । नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयवासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गरे । क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताए । 

लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताएका थिए ।