काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्ने भनी दिएको अभिव्यक्तिले चिनियाँ लगानीकर्तामा खुशीको बहार ल्याइदिएको छ। 

ट्रम्पको त्यस्तो अभिव्यक्ति सम्बन्धी खबर र त्यसलाई पुष्टि गर्ने अमेरिकी अधिकारीहरुको सकारात्मक अभिव्यक्तिले सोमबार चिनियाँ सेयर बजारमा उछाल आएको हो । 

संघाई स्टकको बेञ्चमार्क संघाई कम्पोजिट यो दिन ५.६ प्रतिशतले बढेको छ । समाचारमा जनाइएअनुसार विगत ३ वर्षको अवधिमा चिनियाँ लगानीकर्ताका लागि सोमबार नै सबैभन्दा सुखद दिन प्रमाणित भएको हो । 

सन् २०१५ जुलाईदेखि हालसम्म चिनियाँ सेयर बजारमा कुनै पनि दिन ५.६ प्रतिशतले बजार परिसूचक बढेको थिएन । 

रोयटर्सले चिनियाँ बजार विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएअनुसार बजार परिसूचक चीन र अमेरिकाबीचको व्यापार वार्ता सफल हुने खबरले निकट भविष्यका केही हप्ताभित्रै २० प्रतिशतसम्म बढ्नसक्ने संभावना व्यक्त गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ट्वीट गर्दै अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउने बताएका छन् । 

वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीया राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि सुनाएका छन् । 

आइतबार सम्पन्न भएको, तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिएका थिए । 

संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन् । तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिएका छन् । 

“चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भनेका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको समाचार प्रकाशन गरेको थियो । 

यस्ता समाचारले चिनियाँ लगानीकर्ताको मनोबल बलियो बनाइदिएको हो । 

यस्तै, केही समयअघि चिनिया राष्ट्रपति सि जिन पिङले देशको अर्थतन्त्रमा सकारात्मक प्रगति हुँदै गएको र वित्तीय क्षेत्र निकै मजबुत बन्दै गएको बताएका थिए । यसले समेत लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको विश्लेषण गरिएको छ ।

गत वर्ष चिनियाँ सेयर बजारका लगानीकर्ता देशको अर्थतन्त्रमा मन्दी आउने अवस्थाबाट निराश बनेका थिए । त्यही बेला चीन र अमेरिकाबीचको व्यापार युद्धले समेत उनीहरुको लगानी मनोबल गिराएको थियो । 

समाचारमा जनाइएअनुसार चीनमा झै अन्य एशियन क्षेत्रका सेयर बजारमा समेत चीन अमेरिकाबीच सहमति हुन लागेको खबरले सकारात्मक संकेतहरु देखिएका छन् ।