काठमाण्डौ । चिनियाँ पर्यटकको गुणात्मक वृद्धिको उद्देश्यले पर्यटन बोर्डले चिनियाँ भाषाको नेपाली वेबसाइट संचालनमा ल्याएको छ ।

सोमबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको वेबसाइट सिएन डट वेलकम नेपाल डटकम’को संयुक्त उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले आगामी १० वर्षभित्रमा मुलुकको कुल जीडीपीमा अर्थतन्त्रको योगदान २५ प्रतिशत पुर्याउने लक्ष्य अनुसार अगाडि बढेको बताए । उनले आफ्नो सो लक्ष्य चिनियाँ पर्यटकहरुको उल्लेख्य आगमनले मात्र पूरा हुने भएकोले उनीहरुलाई लक्षित गरी चिनियाँ भाषाको  नेपाली वेबसाइट संचालनमा ल्याइएको प्रष्ट्याए । 

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यू होङले चिनियाँ भाषाको नेपाली वेबसाइटले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध समेत अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए । प्राकृतिक स्रोत र साधनको नेपाल खानी भएको उल्लेख गर्दै उनले नेपालको पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताए । उनले सरकारको सुखी नेपाली, समृद्ध नेपाल अभियानमा चीन सरकार आवश्यक सहयोग गर्न आतुर रहेको समेत बताएका थिए । 

चिनियाँ भाषाको नेपाली वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुको फोटो, भिडियो तथा आलेखहरु राखिएको छ । नेपालको सांस्कृति विविधिताको बिषयमा समेत सामाग्रीहरु अपलोड गरिएको छ । 

सगरमाथा, लुम्बिनी, सौराहा, पोखरा लगायतका प्रमुख पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकतासहित वेबसाइटमा स्थानमा दिइएको छ । चिनियाँ पर्यटकले यो वेबसाइट खोलेर सहज ढंगले नेपालको पर्यटकीय गन्तव्यको बिषयमा सही सूचना पाउनसक्ने नेपाल पर्यटन बोर्डका अधिकारीहरुले बताएका छन् ।