काठमाण्डौ । भन्सार कार्यालय, उद्योग विभाग, नापतौल तथा गुणस्तर विभाग लगायतका निकायमा सेटिङ मिलाएर गैरकानूनी ढंगले व्यापार गरिरहेको बंगलादेशी ब्राण्ड प्रानले लिच्ची जूसमा निकै ठूलो फट्याई गरेको फेला परेको छ । 

प्रानले चिनीमा पानी घोलेर मात्र तयार भएको तरल पदार्थलाई ‘लिच्ची जूस’ भन्दै बिक्रीका लागि नेपाल पठाउने गरेको तथ्य फेला परेको हो । 

निजी क्षेत्रका केही खाद्य प्राविधिकहरुको पहलमा भएको प्रानको शुद्धता जाँचको क्रममा लिच्ची जूसमा हदैसम्म फट्याईं भएको पाइएको एक प्राविधिकले बताए । ती प्राविधिकका अनुसार प्रानले सुरुवाती दिनहरुमा गुणस्तरीय लिच्ची जुस पठाउने गरेको थियो, यसैका कारण छोटो समयमै यसले राम्रो बजार लियो । जब बजारमा लोकप्रिय भयो, त्यसपछि नेपाल पठाइएका जूसहरु खानै नहुने र उपभोक्ता स्वास्थ्यमा गम्भीर असर गर्ने खालका छन् ।

पछिल्लो समय नेपाली बजारमा पठाइएका जुसको बोतलमा १० प्रतिशत पल्प(लिच्चीको दाना माथिको सेतो भाग) रहेको भनिए पनि एक प्रतिशत समेत त्यस्तो पदार्थ नरहेको पाइएको खाद्य प्राविधिकहरुको जाँचको क्रममा फेला परेको छ । ‘प्रानले लिच्ची जूसको नाममा पानीमा चिनी घोलेर नेपाल पठाइरहेको छ, हामी नेपालीले समेत त्यसैलाई लिच्ची जूस भनेर पिइरहेका छौ ।’ ती प्राविधिकले स्वदेशमै उत्पादित पल्प हालिएको लिच्ची जूस र प्रानको लिच्ची जूस सिसाको ग्लासमा हाली फरक देखाउँदै भने–‘नांगो आँखाले हेर्दै पनि थाहा हुन्छ । पल्प हालिएको जूस पानीजस्तो सङ्लो हुँदै हुँदैन ।’ हेर्नुहोस् तस्विर:

निजी क्षेत्रका प्राविधिकहरुको टोलीले सरकारी निकायहरुले प्रानको गैरकानूनी धन्दा र उपभोक्ता स्वास्थ्यमाथिको खेलवाडको बिषयमा शीघ्र छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘यदि उहाँहरुले छानबिनमा तदारुकता देखाउनुुभएन भने हामीले अहिलेसम्म फेला पारेको तथ्य सम्पूर्ण रुपमा सार्वजनिक गर्न हामी बाध्य हुनेछौ ।’–अर्का प्राविधिकले भने । उनले प्रानका सबै उत्पादन खान लायक नरहेका, एमआरपी नलेखी जथाभावी नेपाल भित्रिरहेको र यसले स्वदेशी उत्पादनलाई विस्थापित गर्न सक्ने भन्दै यसको आयातमै रोक लगाउनुपर्ने दाबी गरे । 

यो पनि पढ्नुहोस्: