वासिङ्टन (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको छ । 

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिनुभयो । 

अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउनेछ, राष्ट्रपति ट्रम्पले भन्नुभयो । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनीया राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताउनुभयो । 

आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिनुभएको थियो । 

संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसक्नु भएको छ । तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिनुभयो । 

“चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गर्नुभएको छ । 

“वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,” ट्रम्पले भन्नुभएको छ । “अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।”