काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश मुख्य सूचकमा पहिरो गएको छ । 

यो कम्पनीको रिजर्ब, बिजुली बिक्रीबाट हुने आम्दानी, संचालन नाफा, करपछिको नाफा, इपीएस, नेटवर्थमा गिरावट आएको हो । 

यो कम्पनीको करपछिको मुनाफामा १३.६३ प्रतिशतको गिरावट भएको हो । अघिल्लो वर्षको यही अवधिमा ५२ करोड ४६ लाखमा सीमित यस्तो मुनाफा घटेर ४५ करोड ३१ लाखमा सीमित भएको हो । 

यस्तै, ५१ करोड ६० लाख रहेको संचालन मुनाफा घटेर ४८ करोड ३० लाखमा सीमित भएको छ भने बिजुली बिक्रीबाट हुने आम्दानी ६३ करोड २१ लाखबाट घटेर ६२ करोड ४२ लाखमा सीमित भएको हो ।

अघिल्लो वर्ष ४ अर्ब ५६ करोड रहेको रिजर्बकोषको आकार घटी ४ अर्ब ४२ करोडमा सीमित भएको छ । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा २८.०३ प्रतिशतको पहिरो गएको छ । अघिल्लो वर्ष २६.४७ रुपैयाँ रहेको इपीएस घटेर १९.०५ रुपैयाँमा सीमित भएको हो । 

यस्तै, २१५.२३ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ १०.३८ प्रतिशतले घटेर १९२.९० रुपैयाँमा सीमित बन्न पुगेको छ । यो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २८.५६ गुणा कायम भएको छ ।