काठमाण्डौ । गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनिएको बोनस सेयरका लागि चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ ।

नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता चिलिमेको ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको ४१७.२४ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै आज दोस्रो बजारमा दुवैको कारोबार खुल्नेछ ।

दुवै कम्पनीले लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि आज बुधबारदेखि बुक क्लोज गरेको छन् । त्यसैले यी दुवै कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

चिलिमेले आगामी मंसिर ११ गते २३ औँ वार्षिक साधारसभा गर्दैछ । सभाले चुक्तापुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२.४० रुपैयाँको २० प्रतिशतले हुना आउने ९५ करोड १६ लाख २७ हजार १५६.४८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ७९ लाख ६ हजार ७८९.१२ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसैगरी गुराँस लघुवित्तले आगामी मंसिर १४ गते चौथो वार्षिक साधारणसभा गर्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६१ प्रतिशतले हुन आउने ५९ लाख मूल्याबराबरको बोनस सेयर र ०.४० प्रतिशतले हुन आउने ३ लाख १० हजार ५२६ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) पारित गर्नेछ ।