काठमाण्डौ । चिसो अत्याधिक भएपछि हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका चार पुरुष र चार महिला भारतीय पर्यटकहरुको मृत्यु भएको हो । तीमध्ये चार बालबालिका छन् । मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले बताए । 

मंगलबार बिहान कोठाभित्र सबैजना बेहोस अवस्थामा भेटेपछि रिसोर्टका कर्मचारीले इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका आठैजनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौस्थित हेम्स अस्पताल पठाइएको डीएसपी भट्टराईले जानकारी दिए। ‘सबैको आकस्मिक कक्षमा उपचारका क्रममा निधन भएको खबर आएको छ’, उनले भने।

डीएसपी भट्टराईले रिसोर्टका कोठामा राति हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

ती भारतीय पर्यटक पोखराबाट सोमबार साँझ उक्त रिसोर्टमा बास बस्न पुगेका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।