संयुक्त राज्य अमेरिकाले व्यापार प्रतिबन्धहरू लगाएमा बेइजिङ तथा वासिङ्टनबीच हालसम्म भएका व्यापारसम्बन्धी सबै वार्ता रद्द हुने भन्दै चीनले चेतावनी दिएको छ।

चिनियाँ उपप्रधानमन्त्री लियो ख तथा अमेरिकी वाणिज्य मन्त्री विल्बर रशबीच भएको छलफलपछि चीनले अन्य धेरै देशहरूबाट गरिने आयात बढाउन आफू तयार भएको बताएको थियो।

चिनियाँ उत्पादनहरूमाथि ५० अर्ब डलर बराबरको थप आयात कर लगाउने भन्दै वासिङ्टनले धम्की दिएको केही दिनपछि नै अमेरिकी वाणिज्य मन्त्री रशले चीनको भ्रमण गरेका हुन्।

चिनियाँ प्रतिक्रिया
अमेरिकी उत्पादनहरू तथा सेवाहरूको खरिद बढाइने सम्बन्धी भनेर गत महिना वासिङ्टनमा भएको सम्झौताबारे मात्र आइतवार जारी विज्ञप्तिमा संकेत गरिएको छ।

सो विज्ञप्तिमा भनिएको छ- "वासिङ्टनमा भएको सहमति कार्यान्वयन गराउन दुवै पक्षले कृषि तथा ऊर्जा लगायतका विभिन्न क्षेत्रहरूमाथि राम्रोसँग कुराकानी गरे अनि सकारात्मक तथा ठोस प्रगति हासिल गरेका छन् र सम्बन्धित विवरणहरू दुवै पक्षबाट पुष्टि हुन बाँकी नै छ।"

तर चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले व्यापार युद्धको विरोध गर्ने विज्ञप्ति राखेको छ र दुवै पक्षले बीचमा एकअर्कासँग भेट गर्नुपर्ने भनेर उल्लेख गरेको छ।

बेइजिङमा भएका वार्ता अमेरिका तथा चीनबीचको द्विपक्षीय व्यापार घाटा कम गर्न लक्षित थियो।

अमेरिकाले हाल चीनलाई बेच्नेभन्दा चार गुणा बढी उसबाट खरिद गर्छ।

"असमान" व्यापार अभ्यासहरूमाथि लक्षित गर्दै गत साता ह्वाईट हाउसले जारी गरेको एउटा विज्ञप्तिमा अमेरिकाले ५० अर्ब डलर बराबरको चिनियाँ सामग्रीहरूमाथि २५ प्रतिशत आयात शुल्क लगाइने जनाएको थियो।

बीबीसीकी एसिया व्यापार संवाददाता करिश्मा वास्वानी भन्छिन्- गत महिना वासिङ्टनमा भएका वार्तामा चीनले छुटहरू दिने भनेको विषयबाट पूर्ण रूपमा ट्रम्प प्रशासनको चित्त नबुझेको भन्ने संकेत सो विज्ञप्तिले दिन्छ।

आलोचना
यसैबीच अमेरिकाले स्टील तथा एलुमिनियममा नयाँ आयात कर लगाएपछि विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनले अमेरिकाको आलोचना गरेको छ।

फ्रान्सेली अर्थमन्त्री बुन्रो ल मेरले, उनकै शब्दमा, व्यापार युद्ध केही दिनभित्रै सुरु हुन सक्ने चेतावनी दिएका छन्।

शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालको वेबसाइट ट्वीटरमा एउटा सन्देश राख्दै "व्यापारको मामिलामा वर्षौँसम्म अमेरिका अन्य देशहरूबाट ठगिएको" बताएका थिए।

ट्रम्पले, स्टीलमाथि लगाइने आयात करले अमेरिकी स्टील उत्पादकहरूलाई संरक्षण दिने र उनका अनुसार त्यो राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ।

साथै युरोप तथा अन्य देशहरूमा अमेरिकी कम्पनीहरूले अवरोधहरू सामना गर्नुपरेको भन्दै उनले गुनासो पनि गरे।

-बीबीसीबाट