काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स कम्पनीका संस्थापक ज्याक माले एक अभिव्यक्ति दिएर अहिले विश्वभर विवादमा घेरामा परेका छन् । उनले आइतबार ९९६ वर्क कल्चर(बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्ताको ६ दिन काम गर्ने कल्चर)को निकै ठूलो वकालत गरेका छन् । उनले काम गर्ने यो पद्धति उत्साहित युवाहरुका लागि उपयुक्त हुने तर्क पेश गरेका छन् । ज्याक माको जीवनकहानी पढ्दा समेत उनी निकै उत्साही र कडा परिश्रमी रहेका पाइन्छ । एक गरीब व्यक्तिबाट चीनकै सबैभन्दा धनी व्यक्तिसम्मको सफलता त्यति सजिलो हुँदैन । 

उनी स्कूलमा कैयौपटक फेल भए । ३० भन्दा बढी जागिरबाट अस्वीकृत गरिए । उनको मजाक उडाइयो । उनलाई कतिपयले ठगसम्म भन्न भ्याए । यति धेरै हरेश खाने घटनाक्रम हुँदा समेत उनको लगाव र लक्ष्यमा कुनै सन्देह आउन दिएनन् । कामप्रतिको निरन्तरको लगनकै कारण आज उनी विश्वकै सबैभन्दा ठूला रिटेलर तथा इकमर्स कम्पनीको मालिक बने ।

सुरुवात ठगी ठान्थे मानिसले
ज्याक माको कुल सम्पत्ति ४०.१ अर्ब डलर रहेको छ । केही समयपहिला प्रकाशित उनको जीवनीमा आधारित पुस्तक 'अलीबाबा: द हाउस द्याट ज्याक मा बिल्ट'मा भनिएको छ कि जब ज्याकले सन् १९९९ मा हांग्झुस्थित आफ्नो अपार्टमेन्टमा अलिबाबा कम्पनीको कामकाज सुरु गरेका थिए, त्यसबेला मानिसले उनलाई शंकाको नजरले हेर्थे । उनलाई मानिसहरुले ३ वर्षसम्म ठग नै सम्झिरहे । पछि गएर मानिसलाई महसुस भयो कि उनी त आफ्नो जीवन सहज बनाइदिने सूत्रधार पो रहेछन् ।

शिक्षकको जागिर छाडेर थालेका थिए कम्पनी
बिल गेट्स या स्टीब जब्सजस्तै ज्याक मा कम्प्युटर साइन्सको पृष्ठभूमि भएका व्यक्ति पनि होइनन् । बाल्यकालमा उनले कहिल्यै कम्प्युटर चलाउन पाएनन् । गणित विषयमा एकपटक उनले १२० पूर्णाकंमा केबल एक अंक मात्र ल्याए । यस्ता व्यक्तिको सफलताको कथाले अहिले विश्वलाई चकित बनाइरहेको छ । १९८० मा उनी आफ्नो शहरमा स्कूले शिक्षकको जागिर खान थाले । तीन वर्षपछि उनले नोकरी छाडेर अनुवाद गर्ने एक कम्पनी खोलेका थिए । 

'मिस्टर इन्टरनेट'को नामले चिनिन्थे
सन् १९९४ मा जब उनी विजिनेशको सिलसिलामा अमेरिका गएका थिए, त्यहाँ इन्टरनेट देखेर चकित परे । मानिसहरु घरमै बसेर कसरी आफन्त र साथीभाईसँग इन्टरनेटको माध्यमबाट जोडिएका छन् भन्ने कुरा उनलाई आश्चर्यजनक लाग्यो । त्यसपछि स्वदेश फर्किएर उनले चाइना पेज लञ्च गरे । यो चीनकै पहिलो अनलाइन डाइरेक्टरी थियो । यसको सफलतासँगै चीनमा ज्याक मा मिस्टर इन्टरनेटको नामले चिनिन थाले । तर, अगाडिको बाटो सहज थिएन । चीनमा इन्टरनेट ल्याउनका लागि त्यहाँको सरकारको ध्यान यसतर्फ खिच्नुपर्ने थियो । यो इन्टरनेटको सुरुवाती चरण मात्र थियो र निकै कम घरहरुमा कम्प्युटर देखिन्थ्यो । लगातारको असफलताका कारण माले चाइना पेज बन्द गरे र अलीबाबाको तयारीमा जुटे । 

३० जागिरबाट रिजेक्टपछि अलीबाबाको सुरुवात
ज्याक मा पढाईमा निकै कमजोर थिए । उनी ५ कक्षामा दुईपटक र आठ कक्षामा ३ पटक फेल भएका थिए । ज्याक मा प्रहरीमा भर्ति हुन चाहन्थे । यसका लागि उनले आवेदन पनि दिए, तर त्यहाँ पनि उनी रिजेक्सनमा परे । प्रसिद्ध हावर्ड विश्वविद्यालयले उनलाई १० पटक अस्वीकृत गर्यो । जब ज्याक माको शहरमा केएफसीले आफ्नो शाखा खोल्यो, तब त्यहाँ पनि जागिरका लागि उनले दरखास्त दिए, तर त्यहाँबाट पनि रिजेक्ट भए । ३० वटा जागिरबाट रिजेक्टेड भएपछि माकले अलीबाबाको सुरुवात गरे । सन् १९९९ को फेब्रुअरी २१ मा ज्याक माले अलीबाबाको सुरुवात गरे, यसका लागि आफ्ना १७ साथीको टिम तयार गरे । आज उनको कम्पनी अधिक फाइदामा छ र विश्वको इकमर्स बजारमा सबैभन्दा अगाडि पनि छ ।

यसरी प्राप्त भएको थियो ऋण
जापानको निकै ठूलो वित्त कम्पनी सफ्टबैंकबाट लोन लिन ज्याक मा सफल भए । यो कम्पनीले चिनको आइटी सेक्टरमा लगानी गर्छ । एक पुरानो ज्याकेट लगाई हातमा एक कागज लिएर उनी सफ्टबैंकमा पुगेका थिए । कुल ६ मिनेटमा उनले लगानीकर्तालाई यति यकिन दिलाइदिए कि उनलाई २ करोड अमेरिकी डलर बराबरको ऋण प्राप्त भयो । 

पहिला पनि विवादमा
यसपछि यो कम्पनीले कैयन विवादको सामना गर्नुपर्यो । २०११ मा अलीबाबालाई झट्का लाग्यो, जब कम्पनीले आफ्नो प्लेटफर्ममा नक्कली सामान बिक्री गरेको पाइयो । यसपछि उनले आफ्ना २ सहायकलाई नोकरीबाट निकालिदिए । मानिसले उनलाई चीनको कम्युनिष्ट पार्टीसँग मिलेको आरोप लगाई छानबिनको माग पनि गरे । 

डाटा टेक्नोलोजीतर्फ बढ्दै !
तमाम विवादका बीच माका समर्थक उनलाई एक टेन्डसेटरको  रुपमा हेर्ने गर्छन् । चीनको सोसल नेटवर्किंग साइट वीबोमा उनलाई १.५ करोडले फलो गर्छन् । उनको विषयमा एक किताब  'मा-इज्म'का अनुसार एक नयाँ धर्म आइसकेको छ । २०१३ को मई महिनादेखि उनले अलीबाबाको कार्यकारी अधिकारीको पद छाडेका थिए । तर यसपछि  पनि उनको प्रतिष्ठामा कुनै कमी आएको छैन । माले पछिल्लो समय स्पष्ट संकेत गरेका छन् कि आगामी दिनमा उनी अनलाइन डाटा टेक्नोलोजीको दिशामा काम गर्न चाहन्छन् । केही वर्षअघि एक विश्वविद्यालयमा लेक्चर दिने क्रममा उनले विश्व डाटा टेक्नोलोजी दिशातर्फ अघि बढिरहेको बताएका थिए । 
(एजेन्सीहरुको सहयोगमा)