काठमाण्डौ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाभाइरसको संक्रमण देखिनुमा चीनको वेट मार्केट (मासु बजार) प्रमुख कारक रहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री मरिसनले शुक्रबार संयुक्त राष्ट्रसंघसमक्ष चीनको वेट मार्केटमाथि कारबाहीको अपिल पनि गरेका छन्। उनले चीनको वेट मार्केट विश्वका लागि निकै खतरा रहेको औंल्याएका छन्।

प्रधानमन्त्री मरिसनले हालै एउटा रेडियो अन्तर्वार्तामा पनि वेट बजार चाहे जहाँ पनि होस् अहिलेको परिस्थितिमा निकै खतरा रहेको बताएका छन्। ‘यो भाइरस चीनको उपज हो र अहिले यस विश्वका लागि निकै खतरा बनेको छ’, उनले भनेका छन्।

वेट मार्केटमा ताजा मासु, माछा र सीफुड बिक्री हुन्छ। 

गत वर्ष नोभेम्बरमा चीनको वुहान सहरमा कोरोनाको संक्रमण देखिएको हो। कोरोनाभाइरसको जन्म वुहानस्थित मासुबजारबाट भएको र पशुको मासुबाट मानिसमा सरेको बताइएको थियो। संक्रमण बढ्न थालेपछि वुहानको सीफुड होलसेल मार्केट गत जनवरीदेखि बन्द गरिएको छ। 

जोन्स हापकिङ्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म कोरोनाबाट ६० हजारको हाराहारीमा मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ११ लाख बढी पुगिसकेको छ।